काठमाडौं । पोखरामा जारी नवौं राष्ट्रिय खेलकद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लबले विजयी सुरुआत गरेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा मंगलबार सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले बागमती प्रदेशलाई ४ विकेटले हराएको छ ।
पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको बागमतीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ८९ रन बनाएको थियो । ९० रनको लक्ष्य एपीएफले १९.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
एपीएफको जितमा रोमाले ३५ बलमा एक चौकासहित २२ रन बनाइन् । उनलाई ममता चौधरीले १७ तथा नेरी थापा र कप्तान सीता रानामगरले समान १६ रन बनाएर साथ दिएका थिए । बागमतीका सोनी पाख्रिन र सुमन खतिवडाले समान दुई विकेट लिए । कप्तान अस्मिना कर्मचार्यको नाममा एक विकेट रह्यो ।
त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको बागमतीका सुमन खतिवडा र कप्तान अस्मिना कर्मचार्यले समान १९ रन बनाउनुबाहेक अरू खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । बागमतीले २० अतिरिक्त रन पाएको थियो ।
जितसँगै समूह ‘ए’मा एपीएफ दुई अंकसहित शीर्ष स्थानमा छ । समान दुई अंक जोडेका मधेस प्रदेश र बागमती क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।
दोस्रो खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गरेको हो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गण्डकी प्रदेशले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै ५९ रन बनाएको थियो । गण्डकीका लागि कप्तान श्रृष्टि जैशीले सर्वधिक अविजित २८ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।
गण्डकीलाई सस्तैमा समेट्न सुदूरपश्चिमकी ऋतु कनौजियाले दुई तथा अनु कडायत, स्नेहा महरा र साबित्री धामीले एक एक विकेट लिए । ६० रनको लक्ष्य पछ्याएको सुदुरपश्चिमले ५८ बल बाँकी छँदै चार विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो । सुदूरका लागि ऋतु कनौजियाले सर्वाधिक २२ रन बनाउँदा स्नेहा महरा २१ रनमा अविजित रहिन् ।
गण्डकीकी शिला क्षेत्रीले दुई तथा श्रृष्टि जैशीले एक विकेट लिइन् । खेलको युमन अफ दि म्याच सुदूरपश्चिमकी ऋतु कनोजिया भएकी हुन् । सुदूरपश्चिम पहिलो खेलमा बागमती प्रदेशसँग आठ विकेटले पराजित भएको थियो ।