काठमाडौं । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा बंगलादेशले भुटानलाई ८–० ले हराउँदै फाइनलमा स्थान बनाएको छ । प्रतियोगितामा बंगलादेशले फाइनलमा स्थान बनाएको यो दोस्रोपटक हो । यसअघि २०१६ मा पनि बंगलादेशले फाइनलमा स्थान बनाएको थियो ।
शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशलाई जित दिलाउन कप्तान सबिना खातुनले ह्याट्रिक गरिन् । यस्तै मोसाम्मत सिरात जाहन सोप्ना, श्रीमोती सरकार, रितु पोर्ना चक्मा, मसुरा प्रभिन र तोहुरा खातुनले एक एक गोल गरिन् ।
बंगलादेशले मोसम्मद सिरात जहान शोपनाको गोलबाट दोस्रो मिनेटमै अग्रता लिएको हो । सविना खातुनले १८ औँ मिनेटमा अग्रता दोब्बर बनाइन् । कृष्णारानि सरकारले ३० औँ मिनेटमा तेस्रो गोल गरिन् ।
खेलको ३५ औं मिनेटमा बैकल्पिक खेलाडी रितु पोर्ना चक्माले चौथो गोल गरेकी थिइन् । ५३ औँ मिनेटमा बंगलदेशकी कप्तान सविनाले पाँचौँ गोल थपिन् । ५५ औँ मिनेटमा मासुरा पर्भिनले छैटौँ गोल थपिन् । खेल सकिन तीन मिनेट बाँकी हुँदा बैकल्पिक खेलाडी तोहुरा खातुनले अर्को गोल थपिन् ।
इन्जुरी समयमा कप्तान सविनाले ह्याट्रिक पूरा गरिन् । जारी प्रतियोगितामा कप्तान सबिना खातुनको यो आठौँ गोल हो । जारी प्रतियोगितामा बंगलादेशकी जहान शोपना, भारतकी अञ्जु तामाङ र पाकिस्तानकी नादिया खानले समान ४ गोल गरेका छन् ।
भुटान पहिलोपटक साफको सेमिफाइनलमा स्थान बनाउन सफल भएको थियो । भुटानले समूह चरणमा श्रीलंकालाई ५–० ले हराएको थियो । जुन प्रतियोगितामा भुटानको पहिलो जित थियो ।
अब बंगलादेशले उपाधिका लागि नेपाल र भारतबीचको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा नेपाल र भारतले साँझ ५ः३० बजे दशरथ रंगशालामै प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल सोमबार हुनेछ ।