काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत ३४ औं राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबमाथि १३ रनको जित निकाल्दै त्रिभुवन आर्मी क्लब समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।
कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा बुधबार भएको दोस्रो खेलमा आर्मीले पुलिसमाथि जित निकाल्दै समूह विजेताको रुपमा अन्तिम चारमा स्थान बनाएको हो । आर्मीले पाँच खेलबाट ८ अंक बनाएर समूह विजेता बन्दा ६ अंक जोडेको पुलिस उपविजेता बन्यो । पुलिससँगै कर्णाली प्रदेशको पनि समान ६ अंक भए पनि रन रेटको आधारमा अन्तिम चारमा पुग्नबाट बञ्चित भयो ।
आर्मीले दिएको १ सय ७८ रनको लक्ष्य पछ्याएको पुलिसले निर्धारित १९ ओभरमा ८ विकेट गुमाउँदै १ सय ६४ रन बनायो । आक्रामक ब्याटिङ गरेका आरिफ शेख २४ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक ४० रनको पारी खेले पनि जितका लागि पर्याप्त भएन । ओपनर कुशल भुर्तेल ९ रन जोड्ने क्रममा रन आउट हुँदा अर्का ओपनर सुनिल धमलाले २७ तथा दिलिप नाथले २३ रनको योगदान गरे । कप्तान दिपेन्द्र सिंह ऐरी २१ रनमा पवेलियन फर्किदा योगेन्द्र सिंह कार्की १४ रनमा रन आउट भए । यस्तै पवन सराफ १३ रनमा सहाब अलामको बलमा सोनु तामाङबाट क्याच आउट हुँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् । बलिङ तर्फ आर्मीका स्पिनर शाहब आलमले ४ ओभरमा २४ रन खर्चेर २ विकेट निकाल्दा सोमपाल कामीले ४ ओभरमा ४५ रन खर्चेर समान २ विकेट लिए । जितेन्द्र मुखिया र सुशन भारीको नाममा एक÷ एक विकेट रह्यो ।
त्यस अघि टस जितेर पहिला ब्याटिङ थालेको आर्मीले निर्धारित १९ ओभरमा ५ विकेट गुमाएर १ सय ७७ रन जोडेको थियो । आर्मीका कप्तान विनोद भण्डारीले विष्फोटक ब्याटिङ गर्दै २९ बलमा २ चौका र ७ छक्कासहित ६६ रनमा अविजित रहे । म्यान अफ दि म्याच घोषित भएका भण्डारीले २२ बलमा अर्धशतक पूरा गरेका थिए । यस्तै ओपनर अर्जुन साउदले ३४ बलमा ७ चौका र २ छक्कासहित ५३ रन बनाउने क्रममा करण केसीबाट रनआउट हुन पुगे । अर्का ओपनर हरि चौहान शून्यमा पवेलियन फर्किदा भिम सार्कीले १५ र रोहित पौडेलले १४ रनको पारी खेल्दै आर्मीको इनिङलाई अगाडि बढाउने प्रयास गरेका थिए । यस्तै राजेश पुलामी १४ रनमा पवेलियन फर्किए । १२ बल खेल्दा पुलामीले २ चौका प्रहार गरेका थिए ।
यससँगै नवौं राष्ट्रिय खेलकुद अन्र्तगत पुरुष क्रिकेट प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको छ । यस अघि मंगलबार समूह ‘बी’ बाट दुई टोलीको टुङ्गो लागेको थियो । एनआरएनए स्पोट्स एकेडेमी ४ खेलमा १ मा जित र ३ खेलमा अंक बाँड्दै पाँच अंकका साथ शीर्ष स्थानमा रहँदै समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाउन सफल भयो भने उपविजेताको रुपमा सुदूरपश्चिम प्रदेशले अन्तिम चारमा स्थान बनाएको थियो । सुदूरपश्चिम ४ खेलमा १ मा जित, १ मा हार र २ खेलमा अंक बाँड्दै ४ अंकका साथ सेमिफाइनलमा स्थान बनाएको हो । यता उपाधि दावेदार एपिएफ र बागमती प्रदेशका सबै खेलमा बर्षा बाधक बनेपछि कुनै पनि खेल खेल्न नपाई बाहिरिएका थिए । बागमती प्रदेश र एपिएफ ४–४ अंकका साथ तेस्रो र चौथो स्थानानमा रहँदै बाहिरिए । समान ४÷४ अंक भए पनि सुदूरपश्चिमले एक खेलमा निकालेको जितको आधारमा सेमिफाइनलमा पुगेको हो ।
बिहीबार पहिलो सेमिफाइनलमा समूह ‘ए’ को विजेता आर्मी र समूह ‘बी’ को उपविजेता सुदूरपश्चिमबीच दिनको पहिलो खेल हुनेछ भने दोस्रो सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता पुलिस र समूह ‘बी’ को विजेता एनआरएनएबीच प्रतिस्पर्धा हुनेछ । फाइनल शुक्रबार हुनेछ । बिहीबार तय भएका सेमिफाइनल खेल वर्षाका कारण हुन नसके समूह विजेता टोली फाइनलमा पुग्नेछन ।
अर्को खेलमा कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई ८ रनले पराजित गर्यो । टस हारेर पहिलो ब्याटिङ्गको निम्तो पाएको कर्णाली प्रदेशले निर्धारित १३ ओभरको खेलमा ७ विकेटको क्षतिमा ९३ रन जोड्यो । ९४ रनको जवाफी चुनौतीका साथ मैदान प्रवेश गरेको गण्डकी प्रदेशले निर्धारित १३ ओभरको खेलमा ९ विकेटको क्षतीमा ८५ रन जोड्न सफल भयो ।