काठमाडौं । नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा पाकिस्तानले सान्त्वना जित दर्ता गरेको छ । पाकिस्तानले मंगलबार माल्दिभ्सलाई ७–० ले हराएको हो । योसँगै पाकिस्तानले जारी प्रतियोगितामा सुखद अन्त्य गरेको छ । माल्दिभ्स भने जित विहीन घर फर्किएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पाकिस्तानकी नादिया खान एक्लैले चार गोल गरिन् । यस्तै रामिन फारीद, खादिजा काज्मी र अनमुल हिराले एक एक गोल गरिन् ।
पहिलो हाफको ३९ औं मिनेटमा रामिनको गोलले पाकिस्तानले अग्रता बनाएको हो । खेलको ४८ औं मिनेटमा खादिजा काज्मीले पेनाल्टीमा गोल गर्दै पाकिस्तानलाई २-० को अग्रता दिलाईन् ।
त्यसपछि आक्रमक खेल खेलेको पाकिस्तानले खेलको ५३ औं मिनेटमा नाडियाले गोल गरेपछि अग्रता तेब्बर बनायो । खेलको ७८ औं मिनेटमा नाडियाले व्यक्तिगत दोस्रो गोल गर्दै पाकिस्तानलाई ४-० को अग्रता दिलाईन् ।
खेलको ८४ औं मिनेटमा नाडियाले ह्याट्रिक पूरा गरिन् । ८९ औं मिनेटमा व्यक्तिगत चौंथो गोल गर्दै टोलीलाई ६-० गोलको अग्रता दिलाईन् । पाकिस्तान यतिमा रोकिएन, खेलको इन्जुरी समयमामा अनमुल हिराले गोल गरिन् पाकिस्तान ७–० फराकिलो गोल अन्तरको जित निकाल्न सफल भयो ।
पाकिस्तान समूह चरणको पहिलो खेलमा भारतसित ३–० ले पराजित भएको थियो । दोस्रो खेलमा बंगलादेशसँग ६–० ले हारेको थियो । यो समूहबाट भारत र बंगलादेशले यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेका छन् ।
आजै हुने भारत र बंगलादेशबीचको खेलले यो समूह विजेताको टुंगो लाग्नेछ । समूह ‘बी’बाट नेपाल विजेता र भुटान उपविजेता हुन् । नेपालले सोमबार श्रीलंकालाई हराएको थियो ।
पाकिस्तानले अन्तराष्ट्रिय फुटबलमा आठ वर्षपछि जित निकालेको हो । यसअघि, सन् २०१४ को साफ महिला च्याम्पियानसिप पाकिस्तानी टिमले खेलेको अन्तिम प्रतियोगिता थियो । त्यति बेला पाकिस्तानले अन्तिम खेलमा भुटानलाई हराएको थियो ।