काठमाडौं । ललितपुर–१६ वडाका संयोग कपालीले शनिबार लमजुङका विनेश खनियालाई ४–१ ले हराएर दोस्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगिताअन्तर्गत पुरुष एकलको उपाधि जितेका छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा संयोगले विनेशलाई ११–१, १३–११, १६–१८, ११–९ र ११–३ ले हराउँदै उपाधि जिते ।
स्पिन इभेन्ट्स प्रालिद्वारा आयोजित प्रतियोगिताअन्तर्गत महिला एकलमा ललितपुर वडा–१२ की इभाना थापामगरले संखुवासभाकी वियन्का राईलाई ११–८, ११–७, ११–३, ८–११, ९–११, ११–५ ले हराएर उपाधि जितिन् ।
यसैगरी, प्रतियोगितामा रनिङ शिल्ड ललितपुर–११ वडाले हात पार्यो । ललितपुर–११ ले दुई स्वर्ण र एक कांस्य पदक जितेको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री जीवनराम श्रेष्ठ, अखिल नेपाल टेबलटनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्य तथा स्पिन इभेन्ट्सका अध्यक्ष सुमन शाक्य र सचिव ज्याकी महर्जनलगायतले विजेतालाई पुरस्कृत गरे ।