काठमाडौं । एनआरएनएले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत ३४ औं राष्ट्रिय पुरुष टी– २० क्रिकेट प्रतियोगितामा बिहीबार विजयी सुरुआत गरेको छ । वर्षका कारण ६ ओभरमा झारिएको खेलमा एनआरएनएले सुदूरपश्चिम प्रदेशलाई १२ रनले पराजित गर्यो ।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको एनआरएनएले निर्धारित ६ ओभरमा ४ विकेट गुमाउदै ७४ रन बनायो । एनआरएनएका ‘म्यान अफ द म्याच’ सागर पुनले नटआउट रहँदै ४६ रन जोडे । उनले १९ बलमा ३–३ चौका÷छक्का प्रहार गरे ।
कप्तान सुनाम गौतमले २४ तथा दीपक क्षेत्रीले नटआउट २ रन जोडे । बलिङतर्फ सुदूरपश्चिमका हेमन्त धामी र शेर मल्लले २–२ विकेट लिए ।
सुदूरपश्चिम ६ ओभरमा ६ विकेट क्षतिमा ६२ रनमा समेटियो । खडक बोहराले १२, कप्तान राजु रिजालले ११, बसन्त कार्कीले ४, लोकेन्द्र चन्दले ७, नारायण जोशीले ४, बसन्त खत्रीले १० र शेर मल्लले ८ रन बटुले । एनआरएनएका दीपक क्षेत्रीले ४ विकेट लिए भने सुनाम गौतम र आशिष पोखरेलले १–१ विकेट हात पारे । बृहत राष्ट्रिय खेलकुदमा एनआरएनएले टिम स्पर्धामा पहिलोपटक सहभागिता जनाएको हो ।
बिहीबारै कीर्तिपुरमा हुने बागमती प्रदेश र प्रदेश १ बीचको खेल वर्षाका कारण भएन । बिहीबारै मूलपानीमा हुने मधेश प्रदेश र गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशबीचको खेल पनि वर्षाका कारण सम्भव भएन । सम्भव नभएका खेलका टिमले १–१ अंक बाँडेका छन् ।
प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले ब्याटिङ र राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बलिङ गरी शुभारम्भ गरे ।
गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने भएपनि क्रिकेटको अन्तर्राष्ट्रिय तालिकासंग नबाझिने गरी राष्ट्रिय क्रिकेट आयोजना गरिदिन नेपाल क्रिकेट संघ (क्यान) बाट भएको आग्रह र प्रस्ताव गरेको मिति र स्थानमा सहभागी ११ वटै टिमको समेत क्यानको प्रस्तावमा सहमति भए पश्चात मिति र खेल स्थल परिवर्तन गरिएको हो ।
प्रतियोगितामा ११ टिम सहभागी छन् । सहभागी टिमलाई २ समूहमा विजभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूहको शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् । समूह ‘ए’ मधेश प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, नेपाल प्रहरी, नेपाली आर्मी र गण्डकी प्रदेश तथा समूह ‘बी’ मा एनआरएनए, बागमती प्रदेश, सुदूरपश्चिम, प्रदेश १ र एपीएफ क्लब रहेका छन् । फाइनल भदौ ३१ गते हुनेछ ।