काठमाडौँ । छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फूटबल अन्तर्गत भुटानविरुद्धको खेलमा नेपालले विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको उद्घाटन खेलमा भुटानलाई ४-० गोल अन्तरको जित हात पारेको हो ।
नेपाललाई जित दिलाउन सावित्रा भण्डारी र अनिता बस्नेतले दुई दुई गोल गरिन् । सावित्राले खेलको १२औँ मिनेटमा अमिषा कार्कीको पासमा गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाइन् । खेलको ६७ औं मिनेटमा सावित्रा भण्डारीले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाएकी हुन् ।
साफमा सावित्राले भुटानविरुद्ध गरेको यो दशौं गोल हो । यससँगै नेपालको लागि सावित्राको व्यक्तिगत गोल संख्या ४० पुगेको छ ।
७२ औं मिनेटमा अनिता बस्नेतले उत्कृष्ट गोल गर्दै नेपाललाई ३-० ले अघि बढाइन् । उनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई भुटानको गोलरक्षक संगीता मोंगरले बचाउन सकिनन् । त्यसपछि खेलको ८५औं मिनेटमा बस्नेतले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै नेपाललाई सानदार जित दिलाईन् ।
भुटान विरुद्धको खेलमा नेपालका तीन खेलाडी दिपा शाही, अमिषा कार्की र समिक्षा घिमिरेले राष्ट्रिय टोलीमा डेब्यु गरेकी छिन् । यस जितसँगै समूह 'बी' को नेपालले पहिलो खेलमै ३ अंक जोडेको छ । भुटानले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।
नेपालले अब भदौ २७ गते सोमबार श्रीलङ्कासँग खेल्नेछ । भोली प्रतियोगिताको समूह बी मा दुई खेल हुनेछ । पहिलो खेलमा भारत र पाकिस्तान दिउँसो १ बजे खेल्नेछन् । दोस्रो खेल साँझ ५:३० बजे बंगलादेश र माल्दिभ्सले प्रतिस्पर्धा गर्नेछन् ।
समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल खेल असोज ३ गते हुनेछ ।