काठमाडौं । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आज मंगलबारदेखि काठमाडौंमा सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्ने छ ।
दशरथ रंगशालामा ५:३० बजेदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले गर्ने तालिका रहेको छ । छैटाैं संस्करणको साफ च्याम्पियनसिपमा आयोजक नेपाललसहित भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स र भूटान गरी सात राष्ट्र सहभागी छन् ।
प्रतियोगिता दुई समुहमा ७ टोलिलाई विभाजन गरिएको छ । प्रतियोगिताको समूह ‘ए’मा भारत, बंगलादेश, माल्दिभ्स र पाकिस्तान छन् । यस्तै समूह 'बी'मा आयोजक नेपाल, श्रीलंका र भुटान छन् ।
घरेलु मैदानमा नेपाल पहिलो पटक उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रने छ । नेपाल भन्दा भुटान कमजोर टिम भएकाले समूह चरणमा खासै चुनौती नहुने अनुमान गरिएको छ । घरेलु मैदानमा नेपाली टोलीलाई आम दर्शकको साथ र समर्थन हुनेछ ।
साफ च्याम्पियनसिप नेपालमा आयोजना भएको यो दोस्रोपटक हो । यसअघि २०१९ मा पनि साफ नेपालको विराटनगरमा आयोजना भएको थियो । नेपाल प्रतियोगितामा चार पटकको उपविजेता टिम हो । चारै पटक नेपाल भारतसँग पराजित भएको थियो ।
नेपाली टोलीको कप्तानी गर्ने जिम्मेवारी पाएकी २६ वर्षीय गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बाले घरेलु मैदानमा आयोजना हुने प्रतियोगिताको उपाधि जित्नका लागि सक्दो प्रयास गर्ने बताएकी छन् । साफ उपाधी नेपालले जित्ने योजनामा रहेको प्रशिक्षक कुमार थापाले बताएका छन् ।
समूह चरणका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । नेपालले दोस्रो तथा समूह चरणको अन्तिम खेलमा भदौ २८ गते श्रीलंकासँग खेल्नेछ । फाइनल खेल असोज ३ गते हुनेछ ।