काठमाडौं । खेलाडी डटकमले नेपाली राष्ट्रिय टिमका पूर्व प्रशिक्षक तथा दक्षिण एसियाली महान् फुटबलर श्याम थापासँग आइतबार अन्तरक्रिया गरेको छ । खेलाडी डटकमले हाम्रो फुटबल नेपालसँगको सहकार्यमा आइतबार दिउँसो थापासँग होटल रोयल सिङ्गीमा ‘श्याम थापासँग फुटबलका कुरा’ कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रममा बोल्दै हाम्रो फुटबल नेपालका अध्यक्ष कृष्ण गुरुङले श्याम थापा जस्तो लिजेन्डसँग अन्तरक्रिया गर्न पाउँदा भाग्यशाली साबित गरेको बताए । श्याम थापाको बारेमा मैले धेरै सुनेको र पढेको छु, वहाँको खेल हेर्न त मैले पाइँन, अध्यक्ष गुरुङले भने, तर अन्तरक्रिया गर्न पाउँदा एकदमै भाग्यमानी महसुस गरेको छु ।
हाम्रो फुटबल नेपालका हाल १८ वटा जिल्लामा संगठन रहेको जानकारी दिँदै अध्यक्ष गुरुङले सधैँ आफ्नो संस्था फुटबलको हितमा हुने कार्यक्रममा संलग्न हुन तयार रहेको बताए ।
खेलाडी डटकमका प्रबन्ध सम्पादक अजय फुयालले मोडरेट गरेको कार्यक्रमका दौरान थापाले आफ्नो बाल्यकाल, जन्मभूमी गुल्मी, इस्ट बंगाल र मोहन बगान, भारतीय राष्ट्रिय टिम, प्रशिक्षक जीवन जस्ता विषयमा आफ्नो अनुभव बाँडेका थिए ।
करिब तीन घण्टा चलेको कार्यक्रममा नेपाली फुटबल कर्मीहरु – हरी खड्का, विकास मल्ल, सन्जीव मिश्र, बाल गोपाल महर्जन, प्रदीप महर्जन, राजीव श्रेष्ठ, अशोक मानन्धर, गौरिमान राई, टासी घले लगायतको उपस्थिति थियो ।