काठमाडौं । नमुना स्पोर्ट्स क्लबको आयोजनामा ललितपुरको गोदावारीमा शुक्रबारदेखि शुरु भएको १९औं संस्करणको दिनेश स्मृति गाइजात्रा कप फुटबल प्रतियोगिताको क्वाटरफाइनल समिकरण पूरा भएको छ ।
गोदावारी बसपार्कस्थित सेन्ट जेभियर फुटबल मैदानमा शुक्रबार भएको खेलमा आयोजक नमुना स्पोर्ट्स क्लब ‘ए’ ले सिर्जनशील युथ क्लबलाई १–० ले पराजित गरेको छ । यस्तै गोदावारी विकास युथ क्लबले नयाँबाटो युथ क्लबलाई २–० ले पराजित गरेको छ । यस्तै गोदावारी युनाइटेडले पहरी एफसीलाई १–० ले पराजित गरेको छ ।
नव समकालीन समाजले शान्तिवन युथ क्लबलाई ३–१ ले तथा लाकुर फुटसलले ड्रिमर एफसीलाई २–१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको छ । टौखेलले गतिशिल युथ क्लबलाई पेनाल्टीमा ५–४ ले पराजित गरेको छ । खालीबारी एफसीले आयोजक नमुना ‘बी’ लाई पेनाल्टीमै ५–३ ले तथा लास्टआउट खुमलटार आइटले नवसोच युथ क्लबलाई पेनाल्टीमै ५–४ ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको छ ।
क्लबका अध्यक्ष डम्वर बहादुर स्याङ्तानले प्रतियोगिताको क्वाटरफाइनलदेखि फाइनल शनिबार हुने जानकारी गराए । यस्तै क्वाटरफाइनलमा पुगेर पराजित हुने ६ टोलीबाट पेनाल्टी सुटआउटमार्फत विजेता छिनोफानो गरिनेछ । विजेताले १० हजार रुपैयाँ हात पार्ने आयोजकले जनाएको छ ।
एक दर्शकलाई ५ हजार रुपैया प्रदान गरिने आयोजकले जनाएको छ । नकआउटको आधारमा भएको प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ३० हजार रुपैयाँ हात पार्नेछ । दोस्रो हुनेले १५ हजार रुपैयाँ हात पार्नेछ । प्रतियोगिताको ललितपुर क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्य नवराज सिलवालले उद्घाटन गरे ।
उद्घाटनको अवसरमा गोदावारी नगरपालिका वडा नम्वर ३ को वडा अध्यक्ष सानुराज घिमिरे, सेन्ट जेभियर स्कुलका प्रिन्सिपल फादर विजय तोपो, वडा नम्वर ३ का सदस्य सन्तोष कुँवर, संगिता तामाङ, सविना नेपाली, दीपक लामा, समाजसेवी श्रीराम आचार्य, गोदावारी मार्सल आर्ट्स प्रमुख तथा समाजसेवी चिन लामा, गोदवारी युनाइटेडका अध्यक्ष ध्रुव बस्नेत, जिल्ला फुटबल संघ ललितपुरको उपाध्यक्ष प्रविन थापा र क्लबका अधयक्ष डम्वर बहादुर स्याङ्तानलगायतको उपस्थिति रहेको थियो ।