काठमाडौँ । पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई समेट्दै नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार केन्या भ्रमणको लागि १६ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ।
अगस्ट २५ देखि सेप्टेम्बर ५ सम्म केन्यामा आयोजना हुन लागेको पाँच ट्वान्टी–२० र तीन एक दिवसीय सिरिजका लागि मंगलबार क्यानले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो। जसमा ज्ञानेन्द्र मल्लले पुनरागमन गरेका छन् भने यु–१९ टोलीका विकेटकिपर अर्जुन साउँद पनि टोलीमा अटाएका छन्।
मल्लले पछिल्लो पटक विश्व क्रिकेट लिग–२ अन्तर्गत मार्चमा युएईसँगको खेलमा समावेश थिए। राष्ट्रिय टोलीमा पछिल्लो पटक स्कटल्याण्ड भ्रमण गरेका विनोद भण्डारी, कुशल भुर्तेल र सुनिल धमला टोलीबाट बाहिरिएका छन् भने अर्जुन साउँद पहिलो पटक राष्ट्रिय टोलीमा अटाएका हुन्।
घोषणा भएको टोलीले अगस्ट २५ देखि सेप्टेम्बर ५ सम्म केन्यामा आयोजना हुने सिरिज खेल्नेछ। नेपालले भ्रमण गर्ने सिरिजमा पाँच ट्वान्टी–२० र तीन एक दिवसीय खेल हुनेछन्। दुवै सिरिज केन्याको घरेलु मैदानमा हुनेछ।
घरेलु टोली केन्यासँगको सिरिजको लागि मंगलबार नै तालिकासमेत सार्वजनिक गरिएको छ। तालिकाअनुसार नेपालले पहिलो ट्वान्टी–२० अगस्ट २५ मा हुनेछ भने दोस्रो अगस्ट २६, तेस्रो अगस्ट २८, चौथो अगस्ट २९ र अन्तिम अगस्ट ३० मा हुनेछ। यस्तै पहिलो एकदिवसीय सेप्टेम्बर २, दोस्रो एकदिवसीय सेप्टम्बर ३ र अन्तिम एकदिवसीय सेप्टेम्बर ५ मा हुने तालिका रहेको छ।
यही सिरिजबाट नेपाली टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले टिम सम्हाल्ने छन् । नेपाली टिमको तयारीका लागि उनी विहीबार नेपाल आइपुग्ने बताइएको छ ।
नेपाली टोलीः
सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ सेख (विकेटकिपर), आरिफ सेख, दीपेन्द्र सिंह ऐरी, देव खनाल, आदिल आलम, करण केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, बसिर अहमेद, अर्जुन साउद (विकेटकिपर), पवन सर्राफ, शाहब आलम, किशोर महतो, विवेक यादव
वैकल्पिक खेलाडीः जितेन्द्र मुखिया, भीम सार्की, प्रतिश जिसी, हरिशंकर शाह