काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा १२ औं केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता मंगलबारदेखि राजधानीमा सुरु भएको छ । प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले एक कार्यक्रमबीच उद्घाटन गरे ।
सो अवसरमा मन्त्री गहतराजले विद्यालयस्तरीय प्रतियोगिताबाटै भविष्यमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीको पहिचान गर्न सकिने भएको हुँदा प्रतियोगिता महत्वपूर्ण भएको बताए । राखेपका सदस्य–सचिव टंकलाल घिसिङले विद्यालयस्तरीय प्रतियोगितानै खेलकुदको मेरुदण्ड भएको धारणा व्यक्त गर्दै कलिलो उमेरका खेलाडीलाई संरक्षण गर्न सके देशका लागि सक्षम खेलाडी तयार गर्न टेवा पुग्ने बताए ।
उद्घाटनका अवसरमा सहभागी पाँचै प्रदेशका खेलाडीले मार्च पास्ट गरेका थिए । कपन टाइगरका तेक्वान्दो खेलाडीले आकर्षक र साहसिक प्रदर्शनी गरेका थिए । अक्सिडेन्टल पब्लिक स्कुलका विद्यार्थीले नृत्य प्रस्तुत गरे भने नेपाल ब्रेकिङ एन्ड डान्स स्पोर्ट्स संघले व्यवस्थापन गरेको ‘बी बोयिङ’ मनमोहक थियो ।
ओलम्पियन जुडोकी सोनिया भट्टले उद्घाटन स्थल त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको ट्रयाकमा ओलम्पिक टर्च परिक्रमा गराएका थिइन् । राष्ट्रपति रनिङ सिल्ड खेलकुदको कुनैपनि उद्घाटन कार्यक्रममा ओलम्पिक टर्च परिक्रमा गराइएको पहिलो हो । निर्णायकको तर्फबाट एथलेटिक्सका प्रमुख प्रशिक्षक चन्द्र गुरुङ र खेलाडीको तर्फबाट गण्डकी प्रदेशकी एथलेटिक्स खेलाडी तीर्था ढकालले शपथ ग्रहण गरेका थिए ।
विभिन्न ६ खेल समावेश प्रतियोगितामा प्रदेश १ र मधेश प्रदेश बाहेक ५ प्रदेशको सहभागिता रहेको छ । भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो, कराते र उसुमा ५ सय खेलाडी सहभागी छन् । एथलेटिक्समा २६, करातेमा ८, तेक्वान्दो र उसुमा ६–६, भलिबल र कबड्डीमा २–२ गरी ५० स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।समग्रमा शीर्ष तीन स्थानमा रहने टिम र खेलाडीको व्यक्तिगत गरी कुल पुरस्कार राशी ९ लाख ४५ हजार रुपैयाँ रहेको छ । प्रतियोगिता बिहीबार सम्पन्न हुनेछ । प्रदेश संरचनामा प्रतियोगिता आयोजना भएको यो तेश्रोपटक हो ।
एथलेटिक्स : निशा पहिलो
एथलेटिक्सको छात्रा १ सय मिटर दौडमा लुम्बिनी प्रदेशकी निशा चौधरी पहिलो भइन् । निशाले १२.५३ सेकेन्डमा निर्धारित दूरी पूरा गरिन् । लुम्बिनीकै रेशु थारु दोश्रो तथा बागमती प्रदेशकी कृतिका रन्जितकार तेश्रो भए । छात्रा १ हजार ५ सय मिटर दौड ५ मिनेट २१.० सेकेन्डमा पूरा गरेकी गण्डकी प्रदेशकी जानकी खराल पहिलो भइन् । कर्णाली प्रदेशकी हिमाली शाही दोश्रो तथा कर्णालीकै मोतीकला डाँगी तेश्रो बने । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको छात्रा हाइजम्पमा लुम्बिनीकी प्रमिला चौधरी शीर्ष स्थानमा रहिन् । प्रमिलाले १.३० मिटर जम्प गरिन् । गण्डकीकी सीमा श्रेष्ठ र कर्णालीकी मापसना रसाइली संयुक्त रुपमा दोश्रो भए । दुवैले १.२५ मिटर हामफाले ।
कराते : रेहान र सन्जुलाई स्वर्ण
करातेको एकल कातातर्फ पुरुषमा बागमतीका रेहान जोवद तथा महिलामा बागमतीकै सन्जु देशार पहिलो भएका छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको कराते हलमा भएको प्रतियोगिताको पुरुषमा लुम्बिनीका प्रजीत बैजाली मगरले रजत तथा गण्डकीका प्रिन्स गुरुङ र कर्णालीका लक्ष्मणकुमार शाहीले कांस्य जिते । महिलामा बागमतीकी प्रजिस्मा श्रेष्ठ दोश्रो तथा कर्णालीका प्रियंका शाही र ममता नेपाली तेश्रो बने ।
भलिबल : सदूरपश्चिम सेमिफाइनलमा
भलिबलको छात्रमा सुदूरपश्चिम सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘बी’ को लिगमा सुदूरपश्चिमले कर्णालीलाई ३०–३२, २५–१४ र २५–१२ को सेटमा पराजित गर्यो । कर्णाली पनि समूह उपविजेता बन्दै सेमिफाइनलमा पुग्न सफल भयो । समूह ‘ए’ मा लुम्बिनीले मिश्रित प्रदर्शन गर्यो । गण्डकीले लुम्बिनीलाई १८–२५, २५–१७ र ३०–२८ ले हरायो । बागमती विरुद्धको खेलमा भने लुम्बिनी २५–१८, २३–२५ र २५–१५ ले विजयी भयो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको छात्राको प्रतिस्पर्धामा गण्डकीले कर्णालीलाई २५–११ र २५–१६ को सोझो सेटमा पन्छ्याउदै सेमिफाइनल यात्रा तय गर्यो । जितसंगै गण्डकी समूह ‘बी’ को विजेता भयो । कर्णाली पनि समूह उपविजेताका हैसियतले सेमिफाइनलमा पुग्यो । समूह ‘ए’ मा दोहोरो जित निकाल्दै लुम्बिनीले सेमिफाइनलमा स्थान सुरक्षित गर्यो । लुम्बिनीले सुदूरपश्चिमलाई २५–२१ र २५–१२ तथा बागमतीलाई २५–२१ र २५–२३ को सीधा सेटमा पन्छायो ।
कबड्डी : लुम्बिनीसँग गण्डकीको हार
कबड्डीको छात्रमा लुम्बिनीले गण्डकीलाई ६९–३६ र कर्णालीलाई ६८–३४ तथा सुदूरपश्चिमले बागमतीलाई ६८–३४ ले पराजित गरे । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगिताको छात्रामा बागमतीले कर्णालीलाई ३१–२६, सुदूरपश्चिमले गण्डकीलाई ६६–३९ र लुम्बिनीले बागमतीलाई ३६–२४ ले हराए । राउन्ड रोविन लिगका आधारमा भइरहेको प्रतियोगिताको छात्र-छात्रा दुवैमा ५–५ टिम सहभागी छन् । लिगमा हासिल गरेको अंकका आधारमा विजेताको टुंगो लाइने छ ।