काठमाडौं । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको मुल आयोजक कमिटीको पहिलो बैठक शुक्रबार राजधानीमा बसेको छ । काठमाडौंको जमलस्थित एल्लो प्यागोडामा होटलमा नवौं राष्ट्रिय खेलकुदको मुल आयोजक कमिटीको बैठक बसेको हो ।
वैठकले मन्त्रिपरिषदबाट पारित भएको नवौं खेलकुद कार्यसन्चालन निर्देशिका अनुमोदन गरेको छ । निर्देशिकाले राष्ट्रिय खेलकुद परिषदका अध्यक्षसमेत रहने युवा तथा खेलकुदमन्त्रीलाई मूल आयोजक समितिको संयोजक तोकेको छ । मूल आयोजक समितिमा राखेप सदस्यसचिव समितिको पनि सदस्यसचिव रहने व्यवस्था छ ।
बैठकमा मन्त्री गहतराज, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, सातै प्रदेशका खेलकुद सदस्य सचिव, विभागीय टोली, खेल संघका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुँदैछ ।
नवौं राष्ट्रिय खेलकुदमा करिव ७ हजार खेलाडीसँगै प्रशिक्षक, व्यवस्थापक, संघका प्रतिनिधि र निर्णायक गरी ९ हजार ५ सयभन्दा बढीको सहभागिता रहनेछ । समितिकाे दाेस्राे बैठक पाेखरामै बस्ने निर्णय भएकाे छ ।
मुख्य निर्णयहरु :
१) प्रतियोगिता संचालनकालागि राष्ट्रिय खेलकुद प्रतियोगिताका सदस्य सचिवको संयोजकत्वमा कार्यकारी समिती गठन गर्ने ।
२) प्रतियोगिताका लागि १४ वटा उपसमिती गठन गर्ने ।
३) प्रतियोगितामा ७ वटा प्रदेश, विभागीय टिम र एनआरएन गरी ११ टिम सहभागी गराउने ।
४) प्रतियोगितामा विभिन्न ३६ विधामा प्रतिष्पर्धा गराउने ।
५) नवौं राष्ट्रिय खेलकुद प्रतियोगितादेखी लागु हुने गरी मुख्य ट्रफी बनाउने र उक्त ट्रफीलाई विभागीय टिमसँगै ७ वटै प्रदेशमा टुरमा लैजाने ।
६) लगातार तीन वटा प्रतियोगिता विजेतालाई ट्रफि प्रदान गरीने ।
७) प्रतियोगिताकालागि ६० करोड बजेट स्विकृत ।