काठमाडौं । अपन राधेमाई युथ क्लब, वीरगन्जले यु–१६ नेक्सस कप टी– २० क्रिकेट सिजन ५ को उपाधि मंगलबार जितेको छ । बाग्मती प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा भएको प्रतियोगिताको फाइनलमा राधेमाईले आयोजक नेक्सस क्रिकेट एकेडेमीलाई ३९ रनले पराजित गर्यो ।
मूलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको राधेमाईले निर्धारित २० ओभरमा अलआउट हुनुअघि ८२ रन जोड्यो । राधेमाईका सगिर मियाले २१ तथा सफ्वान अलीले १९ रन जोडे । नेक्ससका हिमाल न्यौपाने र चन्दु यादवले २–२ विकेट लिए । जवाफमा नेक्ससले ११.४ ओभरमा ४३ रन जोड्दै सबै विकेट गुमायो ।
नेक्ससका सन्दिप विष्टले ३० स्कोर गरे । ‘म्यान अफ द म्याच’ राधेमाईका अनिश साह कानुले ३.४ ओभरमा ५ रन खर्चेर ५ विकेट लिए । उपाधिसंगै राधेमाईले १ लाख नगद पुरस्कार हात गर्यो भने नेक्ससले ७५ हजार नगद पुरस्कारमा चित्त बुझायो । मोफसलको टोलीले उपाधि जितेको तेश्रो पटक हो ।
पहिलो संस्करण महेन्द्रनगरको सनराइज र दोश्रो वीरगन्जको युनाइटेड क्लबले जितेका थिए । तेश्रोमा आयोजक नेक्सस च्याम्पियन बन्दा चौथोमा ग्रेट हिमालय क्रिकेट एकेडेमी (जिएचसीए), ललितपुरले उपाधि चुमेको थियो । राधेमाईका अनिश ‘म्यान अफ द सिरिज’ का साथै उत्कृष्ट बलर पनि घोषित भए ।
उनले प्रतियोगितामा १ ह्याट्रिकसहित १४ विकेट लिए । प्रतियोगिताभर ११५ रन जोडेका नेक्ससका उत्तम थापा मगर उत्कृष्ट व्याट्सम्यान चुनिए । उदीयमान खेलाडीको उपाधि काठमाडौं क्रिकेट टे«निङ सेन्टर (केसीटीसी) का कमल शाहीले जिते ।
विजेतालाई काठमाडौं जिल्ला क्रिकेट संघका उपाध्यक्ष विजय शर्मा, नेक्ससका अध्यक्ष भरतकुमार शाहीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । असार ६ गते सुरु भएको प्रतियोगितामा मोफसलका ५ सहित १२ टिम सहभागी थिए ।