काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का नवनिर्वाचित पदाधिकारीले पद तथा गोपनियताको शपथ लिएका छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार संघका नवनिर्वाचित कमिटिले पद तथा गोपनियताको सपथ लिएका हुन् ।
एन्फाको निर्वाचन समितिले अध्यक्ष पंकज विक्रम नेम्वाङसहित निर्वाचित १९ पदाधिकारीलाई सपथ खुवाएको हो ।
काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सोमबार भएको निर्वाचनबाट पंकज बिक्रम नेम्बाङ अध्यक्षमा निर्वाचित भएका थिए । यस्तै नवनिर्वाचित कमिटिको वरिष्ठ उपाध्यक्षमा बीरबहादुर खड्का, उपाध्यक्षमा दावा लामा, दिपक खतिवडा, बिराट जंग शाही र दीर्घ बहादुर केसी (कुमार) छन् । नवनिर्वाचित कमिटिको महिला सदस्यमा सरिला श्रेष्ठ र पेमा डोल्मा लामा तथा सदस्यमा मनिष जोशी, अनिल मल्ल, रबिन्द्र चन्द, विकास नारायण श्रेष्ठ, भोजराज शाही, महेन्द्र क्षेत्री, पुरुषोतम थापा, रमेश ब्यन्जनकार, मनिराज विष्ट, टिकाराम लामा, भरत बुढा थापा छन् ।
२१ सदस्यीय कार्यसमिति निर्वाचित गर्नुपर्ने भएपनि कार्यसमितिले पूर्णता भने पाइसकेको छैन । १३ सदस्यमध्ये ११ सदस्य निर्वाचित हुँदा दीपक थापा क्षेत्री, रुपेश अधिकारी, दीपेन्द्र धिमाल र लोकेन्द्र गुरुङले समान ३९ मत प्राप्त गरेपछि पुनः निर्वाचन हुने एन्फाले जनाएको छ ।
एन्फाको नयाँ नेतृत्व कार्यसमितिको पहिलो बैठकले किरण राईलाई महासचिव मनोनित गरेको छ। राई अघिल्लो कार्यसमितिको प्रवक्ता थिए तर उनले राजीनामा दिएका थिए । यस्तै बैठकले रवीन्द्र जोशीलाई कोषाध्यक्ष नियुक्त गरेको छ । उनी अघिल्लो पटक पनि कोषाध्यक्ष थिए । एन्फाका महासचिव र कोषाध्यक्ष मनोनित हुने प्रावधान रहेको छ ।