काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित कार्यसमितिका पदाधिकारीले आज बुधबार सपथ लिने भएका छन् । एन्फाले नवनिर्वाचित कार्यसमितिको पद तथा गोपनीयताको सपथ बुधबार साँझ ५ बजे एन्फा कप्लेक्समा हुने जानकारी गराएको हो ।
सपथपछि नवनिर्वाचित अध्यक्ष पंकज बिक्रम नेम्बाङ लगायत अन्य पदाधिकारीले कार्यभार सम्हाल्नेछन् । काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सोमबार भएको निर्वाचनबाट पंकज बिक्रम नेम्बाङ अध्यक्षमा निर्वाचित भएका थिए । तत्कालिन अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतान्तरले पराजित गर्दै नेम्वाङ आगामी चार वर्षको कार्यकालका निर्वाचित भएका हुन् । कुल ८४ मतमध्ये पंकजले ४५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्धी कर्माले ३९ मत पाए स्वतन्त्र उमेदवार राजीव राज पौड्यालले एक मत पनि प्राप्त गरेनन् ।
यस्तै नवनिर्वाचित कमिटिको वरिष्ठ उपाध्यक्षमा बीरबहादुर खड्का, उपाध्यक्षमा दावा लामा, दिपक खतिवडा, बिराट जंग शाही र दीर्घ बहादुर केसी (कुमार) छन् । नवनिर्वाचित कमिटिको महिला सदस्यमा सरिला श्रेष्ठ र पेमा डोल्मा लामा तथा सदस्यमा मनिष जोशी, अनिल मल्ल, रबिन्द्र चन्द, विकास नारायण श्रेष्ठ,भोजराज शाही, महेन्द्र क्षेत्री, पुरुषोतम थापा, रमेश ब्यन्जनकार, मनिराज विष्ट, टिकाराम लामा, भरत बुढा थापा छन् । बाँकी दुई सदस्य भने आगामी एन्फा महाधिवेशनले तय गर्नेछ ।
दीपक थापा क्षेत्री, रुपेश अधिकारी, दीपेन्द्र धिमाल र लोकेन्द्र गुरुङले समान ३९ मत प्राप्त गरेपछि एन्फाको विधान र फिफा र एएफसी प्रतिनिधिहरूको सुझावअनुसार आगामी एन्फा महाधिवेशनबाट दुई सदस्य तय गरिने एन्फाले जनाएको छ । एन्फाको कार्यसमिति बैठकले नै महासचिव र कोषाध्यक्ष मनोनयन गर्नेछ ।