काठमाडौं । नेपाल प्रहरीका कमल श्रेष्ठ र पार्वती गुरुङले प्रथम राष्ट्रिय खुला तेक्वान्दो पुम्से प्रतियोगितामा आइतबार स्वर्ण जितेका छन् । पुरुष एकलको ३० वर्षमाथि कमल र महिला एकलको २५–३० वर्षमा पार्वतीले स्वर्ण जितेका हुन् ।
दुबै १३औँ दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण विजेता हुन् । नेपाल तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा नेपाल आर्मीका रेजिन रिमाल दोश्रो तथा आर्मीका रामबहादुर पोखरेल र प्रवीण गुरुङ तेश्रो भए । महिलामा तरहराकी सुशिला राई दोश्रो तथा आर्मीकी निता गुरुङ र प्रहरीकी सीता तामाङ तेश्रो स्थानमा रहे ।
सातदोबाटोमा भएको प्रतियोगिताको एकल पुम्सेको २२–२५ वर्ष पुरुषमा लिजेन्ड्सका शिशीर श्रेष्ठ र महिलामा मुलपानीकी चन्दु शाही तथा पुरुष २५–३० वर्षमा प्रहरीका जितबहादुर बोटले स्वर्ण जिते ।
ग्रुप पुम्सेको पुरुष १०–१२ वर्षमा लैनचौरका रोहन भुजेल, सुगम भुजेल र इराजसिंह ठकुरी, १२–१५ वर्षमा स्वयम्भूका त्रिजन चौधरी, समिर तामाङ र थुप्तेन तामाङ, १५–१८ वर्षमा गोदावरी फिट्नेसका श्रृजल श्रेष्ठ, सैरुस थापा र दीपक दुलाल, १८–२२ वर्षमा प्रहरीका कमल राना मगर, अस्मित राउत र राम गोले, २५–३० वर्षमा प्रहरीका प्रेमबहादुर लिम्बू, जितबहादुर बोट र अञ्जन चौधरी तथा ३० वर्षमाथि आर्मीका रेजिन रिमाल, रामकुमार पोखरेल र प्रवीण गुरुङ पहिलो भए ।
ग्रुप पुम्सकै महिला १०–१२ वर्षमा गोदावरीका माधवी राई, इरेन महर्जन र प्रकृति प्रजा, १२–१५ वर्षमा स्वयम्भूका सुवानी तामाङ, तारा वाइबा र रमिला श्रेष्ठ, १५–१८ वर्षमा आर्मीका पुर्णिमा बस्नेत, स्मृति रेगामी मगर र दक्षिणा भुजेल तथा १८–२२ वर्षमा प्रहरीका जैनव खातुन, निशा दर्नाल र मोनिका रम्तेलले शीर्ष स्थान हात पारे ।
पेयर पुम्सेको १०–१२ वर्षमा न्यु जेनका श्रृष्टि स्याङबो र अद्भे बज्राचार्य, १८–२२ वर्षमा प्रहरीका अस्मित चन्द र निशा दर्नाल तथा २५–३० वर्षमा प्रहरीकी पार्वती गुरुङ र जितबहादुर बोटले स्वर्ण प्राप्त गरे । दुईदिने प्रतियोगितामा विभाग, प्रदेश र जिल्लाका ७ सय ४३ खेलाडीले विभिन्न १४ विधामा प्रतिस्पर्धा गरेका थिए ।