काठमाडौं । नेपाल कराते महासंघको तत्वाधान तथा नेपाल सितोरियो कराते संघको बार्षिक कार्यक्रम अनुसार शाखा डोजो नक्सालको २३औँ वार्षिकोत्सवको अवसरमा आठौं सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता यही जेठ १३ गते शुक्रबारदेखि शुरु हुने भएको छ । प्रतियोगितामा नेपालसहित मित्र राष्ट्रहरु भारत, पाकिस्तान र भुटानका खेलाडीहरुले सहभागिता जनाउने छ ।
प्रतियोगितामा पुरुषतर्फको जुनियर तथा क्याडेट ईभेन्टसमा –२५, –३०, ३३, ३५, ४०, ४५ र पुरुषकै सिनियरतर्फ –५०, –५५, –६०, ६७, –७५, –८४, +८४ किलोका साथै एकलकाता र महिलातर्फ जुनियर तथा क्याडेट –२५, –३०, –३३, –३५, –४०, –४५ किलो र महिलाकै सिनियरतर्फ –५०, –५५, –६१, ६७, +६८ किलो तौल समुह गरी कूल २६ स्वर्णका निम्ति प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक एवं शाखा डोजो नक्सालका प्रमुख प्रशिक्षक गजेन्द्र बहादुर खपाङ्गी(ईश्वर)ले जानकारी गराए ।
दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुलगायत हजारौं खेलाडीहरु उत्पादन गर्दै आएको उक्त प्रतियोगिता लामो समयदेखि कोरोना भाईरसका कारण खुलेर प्रतियोगिता आयोजना एवम् सहभागी हुन नसकेको समग्र करातेकर्मीहरुलाई यस प्रतियोगिताले पुनर्ताजगी बनाउने आशा एवम अपेक्षा राखेको कार्यक्रम संयोजक खपाङगीले बताए ।
नेपाल सितोरियो कराते संघ, शाखा डोजो नक्सालले यसअघि आफ्नो २२ बर्षे यात्रा पूरा गर्दै २२ वटा विभिन्न प्रतियोगिता सम्पन्न गरिसकेका छन् । नेपाल सितोरियो कराते संघ, शाखा डोजो नक्सालद्वारा आयोजित यो समग्रमा २३औँ कार्यक्रम हो । यस प्रतियोगिताले क्षमता, योग्यता, अनुभव र दक्ष भएर पनि आर्थिक अभावका कारण अन्तर्राष्ट्रियस्तरको अनुभव संगाल्न नपाएका खेलाडीहरुका निम्ति राम्रो माध्यम र गतिलो प्लेटफर्म सावित भएको नेपाल सितोरियो कराते संघका सचिव तथा प्रवक्ता एवं कार्यक्रम संयोजक गजेन्द्र बहादुर खपाङ्गी(ईश्वर)ले बताए ।
तीन दिनसम्म निरन्तर चल्ने प्रतियोगिताका खेलहरु काठमाडौं त्रिपुरेश्वरस्थित दशरथ रंगशाला राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा संचालन हुनेछ ।