काठमाडौं । पिस युनाइटेडले पारा राष्ट्रिय खेलकुदअन्तर्गत एम्पुटी राष्ट्रिय पुरुष फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा पिसले एक्स आर्मीलाई २–१ गोलले पराजित गर्यो । पिसका सुजन कार्की र सुदीप चापागाईंले गोल गरे । आर्मीका राजु श्रेष्ठले सान्त्वना गोल फर्काए ।
एम्पुटी खेलकुद समाजको तत्वावधानमा राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित प्रतियोगितामा पिसका सुदिप उत्कृष्ट खेलाडी चुनिए । उनले प्रतियोगिता अवधिभर ५ गोल गरे । ब्लायक हक तेश्रो भयो ।
बहिरा बुद्धिचालमा उत्तम र आस्था विजेताः
पारा राष्ट्रिय खेलकुदअन्तर्गत बहिरा बुद्धिचाल प्रतियोगिताको पुरुषमा उत्तम महर्जन र महिलामा आस्था राई शनिबार विजेता बने । पाँच चरणमा भएको खेलमा उत्तम र आस्थाले ५–५ अंक जोडे ।
राष्ट्रिय बहिरा खेलकुद कमिटीको तत्वावधानमा त्रिपुरेश्वरस्थित आयोजक राखेपको सेमी कभर्डहलमा भएको प्रतियोगिताको पुरुषमा झमकप्रसाद गौतम दोश्रो तथा श्याम तामाङ तेश्रो भए । महिलामा नेहा श्रेष्ठ दोश्रो तथा सुनिता नेपाल तेश्रो स्थानमा रहे । पुरुषमा १३ र महिलामा १२ खेलाडी सहभागी थिए ।
नेत्रहीन क्रिकेट उपाधि बाग्मतीलाईः
पारा राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय पुरुष नेत्रहीन क्रिकेटको उपाधि बाग्मती प्रदेशले शनिबार जितेको छ । दुई खेलको टी–२० शृंखला बाग्मतीले २–० ले जितेको हो ।
दोश्रो खेलमा बाग्मतीले मधेश प्रदेशलाई २ विकेटले पराजित गर्यो । पहिले ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५२ रन बनाएको थियो । सागर चेपाङले ३१ रन जोडे ।
प्रत्युत्तरमा बाग्मतीले १९.४ ओभरमा ८ विकेट क्षतिमा लक्ष्य भेटायो । शान्त पहरीले ३८ रन बनाए । राष्ट्रिय नेत्रहीन क्रिकेट संघको तत्वावधानमा मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा शान्त ‘म्यान अफ द सिरिज’ घोषित भए । सिरिजमा शान्तले ६९ रन बनाउनुका साथै ४ विकेट पनि लिए । पहिलो खेलमा बाग्मतीले मधेशलाई ७ विकेटले हराएको थियो ।
व्हिलचेयर बास्केटबलमा गण्डकी र बाग्मती अब्बलः
पारा राष्ट्रिय खेलकुदअन्तर्गत व्हिलचेयर बास्केटबलको पुरुषमा गण्डकी प्रदेश र महिलामा बाग्मती प्रदेशले शनिबार उपाधि हात पारेका छन् ।नेपाल स्पाइनल कोर्ड इन्जुरी खेलकुद संघको तत्वावधानमा राखेपद्वारा आयोजित प्रतियोगिताअन्तर्गत ५ टिम सहभागी पुरुषको राउन्ड रोविन लिगमा गण्डकीले सर्वाधिक ६५ अंक जोड्यो । ४६ अंकसाथ कर्णाली प्रदेश दोश्रो तथा ४४ अंकमा सुदूरपश्चिम प्रदेश तेश्रो भए ।
अत्तरखेलस्थित बौद्ध इन्टरनेसनल स्कुलमा भएको प्रतियोगिताको महिलामा लुम्बिनी दोश्रो भयो । विभिन्न १२ खेल समावेश पारा राष्ट्रिय खेलकुदमा ५ खेलको प्रतियोगिता सम्पन्न भइसकेको छ । यसअघि दृष्टिविहीन गोलबल सम्पन्न भएको थियो ।