काठमाडौं । नेपाल बुद्धिचाल संघका पूर्व सहअध्यक्ष सान्तेषमान सिं प्रधानस्मृति खुल्ला फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगितामा रौतहटका फिडेमास्टर रुपेश जैसवाल च्याम्पियन बनेका छन् । रुपेशले ९ चरणको खेलमा ८ अंक प्राप्त गरेका थिए । अन्तिम खेलमा अर्का फिडेमास्टर क्षितिज भण्डारीलाई सडेन डेथ टाइब्रेकमा हराएका थिए । उनले आकर्षक ट्रफिसहित नगद ५१ हजार एक सय हात पारे ।
त्यसैगरी एसियन एमेच्योर च्याम्पियन हेटौडाका कृष्ण थापा साढे ७ अंकका साथ दोस्रो भएका छन् । कृष्णले नवौं खेलमा लुभु ललितपुरका युवा खेलाडी सुरोज महर्जनलाई माथ गरेका थिए । उनले नगद ३० हजार तीन सय प्राप्त गरे । ललितपुर स्पोर्टस क्लबद्वारा आयोजित प्रतियोगितामा फिडेमास्टरद्वय क्षितिज भण्डारी तेश्रो भए । उनले नगद २० हजार दुईसय जिते । त्यस्तै दमक झापाका राजन सुवेदी चौथौं, ललितपुरका रत्न ब्यन्जनकार पाँचौं, फिडेमास्टर मनिष हमाल छैटौं, सुरोज महर्जन सातौं, सजिन महर्जन आठौं, बद्रिलाल नेपाली नवौं र सुर्यकिरण साकोस भक्तपुरका युवा खेलाडी निकेन कुसाथा दशौं स्थानमा रहे ।
४ दिने प्रतियोगितामा सुरज सिंह, ताप्लेजुङ्गका हरि सुव्वा, धनुषाका सुशील चौधरी, बुटवलका शिखर रेग्मी र काभ्रेका खोमप्रसाद तिमल्सीना क्रमशः उत्कृष्ट एघारौंदैखि पन्ध्रौं भए । उनीहरुले जनही नगद पाँच हजार प्राप्त गरे । त्यसैगरी महिलातर्फ विनिता कपाली प्रथम, दमककी पुनम प्रसाईं द्वितिय र सिन्दिरा जोशी तृतीय भइन भने यु१६ मा भक्तपुरका मिराज गांसी प्रथम, सानेपाका लक्ष्य मोर दोश्रा र भक्तपुरकै रोनिक बासुकला तेश्रो रहे ।
स्वीस लिग ९ चरणको खेल भएको प्रतियोगितामा भेट्रानतर्फ पूर्व नेपाल च्याम्पियन नविन तण्डुकार, रेटिङ्ग समुहमा १८ सय मुनी माउण्ट एभरेष्ट चेस क्लबका धिरेन राई, १६ सय मुनी धरानका विनय राई र १४ सय मुनी कैलालीका दिपक भट्ट उत्कृष्ट रहे । उनीहरुले जनही नगद ४ हजार प्राप्त गरे ।
त्यस्तै, अनरेटेडतर्फ हेमराज भण्डारी प्रथम, दोलखाका कविन्द्र सिवाकोटी दोस्रो र साँखुका सूर्यनारायण अवाले तेस्रो भए । उनीहरुले क्रमशः नगद पाँच हजार, तीन हजार र दुई हजार प्राप्त गरे भने कंचनपुरका भीमदत्त पाण्डे अनुशासित खेलाडी बनेर नगद ३ हजार जित्न सफल रहे ।
विजयी तथा सहभागी खेलाडीहरुलाई आयोजक क्लबका अध्यक्ष हेराकाजी महर्जनको सभापतित्वमा एक समारोहबीच प्रमुख अतिथि नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा माननीय जीवनराम श्रेष्ठ, अतिथि साहिलमान सिं प्रधान, नेपाल बुद्धिचाल संघका बरिष्ठ उपाध्यक्ष विदुरप्रसाद गौतमलगायतले ट्रफि, मेडल, प्रमाण पत्र, नगद पुरस्कार वितरण गरेका थिए ।