काठमाडौं । हिमालयन एक्स्ट्रिमको आयोजनामा नेपालमा पहिलो पटक हुन लागेको ‘एक्स्ट्रिम वल्र्ड टुर ट्रायथलन’मा १३औँ दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता खेलाडी सोनी गुरुङ ब्रान्ड एम्बेसडर चुनिएकी छन् । प्रतियोगिता सन् २०२२ को मे ७ मा पोखरामा हुँदैछ ।
प्रतियोगिताको एस्ट्रिम पक्ष भनेको फेवतालमा ३.५ किमी पौडी, १८० किलोमिटर साइक्लिङ र ४३ किलोमिटर दौड हुनेछ । विश्वभरीका करिव १ सय प्रतियोगीहरुको सहभागिता हुने उक्त एक्स्ट्रिम रेश नेपालमा पहिलो पटक हुन लागेको हो ।
स्वर्णधारी खेलाडी सोनी गुरुङ ‘आइकन’ खेलाडी भएकीले उनलाई ब्राण्ड एम्बेसडर बनाएको आयोजक हिमालयन एक्स्टिमका रेस डाइरेक्टर रिक्की योञ्जनले बताए । सशस्त्र प्रहरी बल (एपीएफ)की खेलाडी सोनीले उक्त प्रतियोगितामा प्रतिस्पर्धा पनि गर्ने छिन् ।
एम्बेसडर सोनीलाई प्रतियोगिता खेल्न आवश्यक पर्ने ड्रेस स्विमिङ (वेट सुट) सुट, टिसर्ट, जुत्तालगायतका कस्ट्युम सामग्री मंगलबार प्रतियोगिता आयोजक संस्थाका को–रेस डाइरेक्टर रिकेश योञ्जनले हस्तान्तरण गरे । उक्त सामग्री विश्व प्रख्यात ‘हुब’ कम्पनीको रहेको र यसले सोनीलाई प्रतिस्पर्धामा सहयोग पुग्ने आयोजकले जनाएको छ ।
६ वर्षदेखि एफिएफमा कार्यरत सोनी धादिङमा जन्मिएकी खेलाडी हुन् । २७ वर्षिया सोनी विगत ७ वर्षदेखि ट्रायथोलन खेलमा आवद्ध छिन् । उनी आठौ राष्ट्रिय खेलकुदकी स्वर्ण पदक विजेता पनि हुन् ।
ब्राण्ड एम्बेसडर चुनिएपछि सोनीले नेपालमा पहिलो पटक हुन लागेको ‘एक्स्ट्रिम वल्र्ड टुर ट्रायथलन’ मा सहभागी हुन पाउँदा निकै गर्व लागेको बताइन् । उनले भनिन्–विश्वका एकसे एक एथलिटहरुसंग आफ्नै देशमा सहभागी हुन पाउनु आफ्नो लागि मात्रै नभई देशकै लागि गौरवको कुरा हो ।
प्रतियोगिताका लागि विगत ५ महिनादेखि निरन्तर रुपमा अभ्यासमा जुटेकी सोनीले आफूले सोचेको सपना पस्रा गर्नेतर्फ नै लागिपरेको बताइन् । ‘यो हामीले खेलिरहेको भन्दा निकै कठिन र जोखिमपूर्ण प्रतियोगिता हो’ उनी भन्छिन् –‘नेपाली खेलाडीहरु कठिन संघर्षकाबीच पनि देशको झण्डा उठाउन कुनै कसर बाँकी राख्दैनन् भन्ने कुरालाई म थप चरितार्थ गर्दै देशका लागि केही योगदान गर्न चाहन्छु ।’
दुई वर्षअघि आयोजना हुने तय भएको उक्त प्रतियोगिता कोभिड १९ का कारण स्थगित हुन पुगेको थियो । ‘एक्स्ट्रिम वल्र्ड टुर ट्रायथलन’ विश्वकै साहसिक प्रतियोगिताका रुपमा चिनिने गर्दछ । युरोपका विभिन्न देशहरुमा यो प्रतियोगिता वर्षेनी आयोजना हुँदै आए पनि एसियामा भने पहिलो पटक आयोजना हुन लागेको हो आयोजकले जनाएको छ ।