काठमाडौं, मंसिर १४ । गुरुङ स्पोर्ट्स हाउसको आयोजनमा सञ्चालन हुने प्रथम गुरुङ स्पोर्ट्स हाउस कप राष्ट्रिय खुला भेट्रान्स पुरुष भलिबल प्रतियोगिता मंगलबार सुरु हदै छ । पाँचदिने प्रतियोगितामा १६ टोलीको सहभागितानिश्चत भइसकेको आयोजक टोलीका संयोजक विकास गुरुङले जानकारी दिए ।
१५ लाख रुपैयाँ लागत रहेको प्रतियोगितामा ४० वर्ष भन्दामाथिको खेलाडीहरुको सहभागिता रहेको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक गुरुङ स्पोर्ट्स हाउसका अध्यक्ष नबीन गुरुङले प्रतियोगिताले नेपाली भलिबल खेलाडीलाई भावनात्मक रुपमा एकताबद्ध बनाउन सहयोग गर्ने बताए ।
प्रतियोगिताको उपाधि विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउने छ । यसैगरी, उपविजयी टोलीले ६१ हजार १सय ११ तथा तेस्रो हुने टोलीले ३१ हजार १ सय ११ पुरस्कार पाउने छन् । चौथो हुने टोलीले ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउने छन् ।
प्रतियोगिता लिग कम नकआउटको आधारमा हुने छ । एक टोलीमा पाँच खेलाडी समाबेश हुन् छन् । चार खेलाडी मैदानमा उपस्थित हुने छन् । प्रतियोगिताको आयोजनामा हङकङ बस्ने गौरव गुरुङ, हेल्प नेपाल स्पोर्ट्स क्लबका अध्यक्ष बासु श्रेष्ठ, हाल अमेरिका बस्ने राजु केसी र हाल जापान बस्ने रामु थापा ‘ काजी ’ लगायतको मुख्य भूमिका रहेको छ ।
पत्रकार सम्मेलनमा नेपाल भलिबल संघका कार्यबाहक अध्यक्ष यम गुरुङ, उपध्यक्ष निरोज मास्के, सचिव मनबीर छन्त्याल, सदस्य राजकुमार गुरुङ, रिता कोइराला, श्रीराम बोगटी र टेक बहादुर राज भण्डारीको उपस्थिती रहेको थियो ।