काठमाडौं, मंसिर ९ । ललितपुर टेबलटेनिस क्लबको आयोजनामा चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता माघ १२ गतेदेखि हुने भएको छ । आयोजक क्लबले बुधबार पत्रकार सम्मेलन गरी सो बारे जानकारी गराएको हो ।
नेपाल टेबलटेनिस संघको तत्वावधान तथा स्पिन इभेन्ट प्रालिको व्यवस्थापनमा हुन लागेको प्रतियोगितामा करिब १ हजार खेलाडीको सहभागिता रहने क्लबका अध्यक्ष उर्दिप जोशीले जानकारी गराए । प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, थाइल्यान्ड, युएइ, कोरियालगायतका राष्ट्र सहभागी हुने जानकारी गराइयो ।
प्रतियोगिता निर्देशक शंकर गौतमले बंगलादेश र पाकिस्तानबाट राष्ट्रिय खेलाडीको सहभागिता रहने जानकारी दिए । पुरुष/महिला सिंगल्स र टिम, भेट्रानको पुरुष ४० वर्षमाथि र ५५ वर्षमाथि तथा महिलामा ४० वर्षमाथि गरी ७ स्पर्धामा खेल हुने छ । सिंगल्स र टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १०/१० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
भेट्रानतर्फ विजेतालाई १० हजार, उपविजेतालाई ५ हजार तथा तेश्रोलाई २ हजार ५ सय नगदबाट पुरस्कार गरिने छ । प्रतियोगिताको अनुमानित बजेट २१ लाख ५० हजार रुपैयाँ रहेको छ ।
त्यसमा मुख्य प्रायोजक सम्झना ल्याबोरेटरी क्लिनिक प्रालिले ५० प्रतिशत रकम प्रायोजन गरिदिने भएको छ । पत्रकार सम्मेलनमै आयोजक क्लब र सम्झनाबीच प्रायोजनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
क्लबका अध्यक्ष जोशी र सम्झनाकी निर्देशक रजना श्रेष्ठ जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । चारदिने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा हुने छ ।