काठमाडौं, मंसिर ४ । दोस्रो देउराली कप स्वर्गीय भीम चन्द ठकुरी स्मृति खुला कराते प्रतियोगिता आगामी पुसको दोस्रो सातादेखि हुने भएको छ । नेपाल सितोरियो कराते संघ देउराली डोजोको आयोजनामा आगामी पुस ९ र १० गते दोस्रो देउराली कप भीम चन्द ठकुरी स्मृति खुला कराते प्रतियोगिता हुन लागेको हो ।
डोजोको स्थापनाकालदेखि नै सहयोगका साथै विभिन्न माध्यमबाट स्थानीय क्षेत्रमा योगदान पुर्याउँदै आएका भीम चन्द ठकुरीको स्मृतिमा दोस्रो संस्करण आयोजना गरिने नेपाल सितोरियो कराते संघ देउराली डोजोका अध्यक्ष राजेश जोशीले जानकारी दिए । भीम चन्द ठकुरीकै सक्रियतामा डोजोको स्थापना समेत भएको थियो । उनी सहिद दशरथ चन्दका भतिज हुन् ।
काठमाडौं महानगरपालिका–३१ मा बस्दै आएका भीम चन्दको गत वर्ष निधन भएको थियो । उक्त प्रतियोगिता नयाँ बानेश्वरस्थित भीमसेनगोला माध्यमिक विद्यालयमा हुनेछ । उक्त विद्यालयमा उनकै सक्रियतामा खेलकुदका लागि अक्षय कोष खडा भएको थियो । त्यसैले उनकै सम्झना देउराली डोजोले दोस्रो संस्करण गर्न लागेको भीमसेनगोला माध्यमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका राजेश जोशीले बताए ।
प्रतियोगितामा फाइट र काता गरी कूल २५ स्वर्ण पदकका लागि खेलाडीले चुनौती प्रस्तुत गर्ने छन् । काताअन्तर्गत टिम र व्यक्तिगततर्फ (महिला र पुरुष) प्रतिस्पर्धा हुनेछन् ।
पुरुष फाइटमा २० केजीमुनि, २५ केजीमुनि, ३० केजीमुनि, ३५ केजीमुनि, ४० केजीमुनि, ४५ केजीमुनि, ५० केजीमुनि, ५५ केजीमुनि, ६० केजीमुनि र ६५ केजीमाथि तौलसमूहसम्म प्रतिस्पर्धा हुनेछन् । महिलातर्फ २० केजी, २५ केजीमुनि, ३० केजी, ३५ केजीमुनि, ४० केजीमुनि, ४५ केजीमुनि, ५० केजीमुनि, ५५ केजीमुनि, ६० केजीमुनि र ६१ केजीमाथि तौलसमूहमा खेलाडीले प्रतिस्र्धा गर्दैछन् ।
प्रतियोगिताका विजेताले नगद पुरस्कारका साथै टिम च्याम्पियनको ट्रफी प्राप्त गर्नेछ । त्यसैगरी दोस्रो र तेस्रोले पनि नगद पुरस्कार र ट्रफी प्रदान गर्ने आयोजकले जनाएको छ ।
सोही प्रतियोगिताको उद्घाटनका अवसरमा श्रष्टासम्मान पनि गरिने डोजोका अध्यक्ष जोशीले बताए । डोजोको स्थापनाकालदेखि सहयोग पुर्याएका र विभिन्न क्षेत्रमा योगदान पुर्याउने स्थानीय व्यक्तित्वलाई सम्मान गरिने आयोजकले जनाएको छ ।