काठमाडौं, असार २६ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको स्वास्थ्य उपचारका सम्बन्धमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र राष्ट्रिय ट्रमा सेन्टरबीच शुक्रबार सम्झौता भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको प्रभावकारी औषधी उपचार गर्ने/गराउने सम्बन्धमा नेपाल खेलकुद महासंघ (नेकोस)को विशेष पहलमा सम्झौता भएको हो ।
राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल र सेन्टरका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.सन्तोष पौडेलले त्रिपुरेश्वरस्थित राखेपको खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रमा भएको एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार सेन्टरले खेलाडीका लागि २४सैँ घण्टा इमर्जेन्सी सेवा, रक्तसंचार सेवा, फार्मेसी सेवा, रेडियोलोजी/इमेजिङ सेवा (सीटी, डेक्सा स्केन, युएसजी, एक्सरे आदि), प्याथोलोजी ल्याब सेवा, शल्यक्रिया सेवा (विभिन्न विषयका)सेन्टरले उपलब्ध गराउने छ ।
त्यस्तै, अर्थोपेडिक तथा ट्रमा सर्जरी (हाडजोर्नी, स्पाइनल, जोर्नी प्रत्यारोपण, स्पोर्ट्स इन्जुरी तथा आर्थोस्कोपी सर्जरीलगायतका सेवा), न्युरो सर्जरी (बहिरङ/अन्तरङ सेवा), इएनटी (बहिरङ/अन्तरङ सेवा), वर्न प्लाष्टिक, जनरल सर्जरी, ओरल एन्ड मेक्जिलो फेसियल, भास्कुलर सर्जरी (अन्तरङ सेवा), सघन उपचार सेवा र फिजियोथेरापीलगायत ट्रमा सेन्टरबाट उपलब्ध हुने सम्पूर्ण स्वास्थ्य सेवा सामाजिक सेवा एकाईमार्फत औचित्य हेरि सहुलियतपूर्ण तबरले सेन्टरले उपलब्ध गराउने छ ।
सेन्टरमा उपलब्ध नभएका सेवा तथा औषधी, औषधीजन्य सामग्री र शल्यक्रियाजन्य सामग्री तत्कालका लागि बिरामी स्वयंले व्यवस्था गर्नु/गराउनु पर्ने तथा त्यसरी प्रयोग भएका सेवा र सामग्रीहरुको भुक्तानी सेन्टरको सिफारिसका आधारमा बिरामीले राखेपसंग सोधभर्नाका लागि पेश गर्न सक्ने छ ।
खेलाडीको प्रभावकारी उपचारमा सहजीकरण गर्नका लागि दुवै पक्षबाट आ–आफ्नो फोकल पर्सन तोक्नु पर्नेछ । सेन्टरले प्रवाह गर्ने ३ किसिमका कडा रोग हेड इन्जुरी, स्पाइनल इन्जुरी र शल्यक्रिया गर्नु पर्ने बोन क्यान्सरका विरामीहरुको स्वास्थ्य उपचार सेवा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विपन्न नागरिक औषधोपचार निर्देशिका बमोजिम सेन्टरले गर्ने छ ।
सो अवसरमा सदस्य–सचिव सिलवालले सम्झौता सम्भव गर्न सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गर्दै खेलाडीलाई उपचार सुविधा प्रदान गर्न सहमत भएकोमा सेन्टरलाई धन्यवाद दिए । डा.पौडेलले राष्ट्रका लागि योगदान गर्ने खेलाडीलाई विशेष महत्व दिनु पर्छ भन्ने मान्यताका साथ सम्झौता गरेको बताए ।
कार्यक्रममा राखेपका सदस्यत्रय एकेन्द्र कुँवर, सुभाष श्रेष्ठ र इन्दिरा निरौला, नेपाल खेलकुद महासंघका अध्यक्ष रमेश पौडेल, खेलकुद चिकित्सा तथा अनुशन्धान केन्द्रका प्रमुख तिलक नेपाली, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विकलगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) का दौरान सेन्टरले गरेको कार्यको प्रशंसा गर्दै प्रशंसा पत्र प्रदान गरिएको थियो । साथै सम्झौता गर्न सहयोगी भूमिका निर्वाह गर्ने चन्द्रागिरी ब्याडमिन्टन क्लबका प्रतिनिधि अरुण श्रेष्ठलाई पनि प्रशंसा पत्र प्रदान गरियो ।