काठमाडौं, असार ७ । ओलम्पिक गतिविधिको जन्मदिनलाई सम्झना गर्दै ओलम्पिकसंग आवद्ध विश्वभरिका राष्ट्रहरुले विविध कार्यक्रमको आयोजना गर्दै मनाउने कार्यक्रम ओलम्पिक डे नेपालमा पनि पाँच दिन मनाइने भएको छ । उक्त कार्यक्रमको युवा तथा खेलकुद मन्त्री एकवाल मियाँले शनिबार एक कार्यक्रमबीच नेपाल ओलम्पिकको सातदोबाटोस्थित कार्यालयमा नेपालको झण्डोत्तोलन र दीप प्रज्वलन गरि उद्घाटन गरेका थिए भने नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले ओलम्पिकको झण्डोत्तोलन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मियाँले नेपाली खेलकुदको विकासका लागि टिम स्पिरिटको भावनाले अगाडी बढ्ने बताए । उनले राजनीतिज्ञ मात्र नभई विकास क्षेत्रबाट अगाडी आएकोले खेलकुद क्षेत्रलाई पहिले भन्दा अझ राम्रो कसरी गर्न सकिन्छ, दत्तचित्त भएर लाग्ने बताए । त्यसका लागि उनले सबैको साथ र सहयोग चाहिने र आफू सक्दो सहयोग गर्ने बताए ।
त्यसैगरी, कार्यक्रमको बारेमा जाकारी दिंदै अध्यक्ष श्रेष्ठले अन्तर्राष्ट्रिय ओलम्पिकसँग आवद्ध विश्वका सबै राष्ट्रमा विभिन्न कार्यक्रमहरु आयोजना भईरहेको र त्यहि क्रममा नेपालमा पनि विभिन्न कार्यक्रमसहित ५ दिनसम्म संचालन हुने बताए ।
उनले खेलाडी मात्र नभई सबैलाई समेटेर ब्यापक रुपमा ओलम्पिकसंग सहकार्य गर्दै अगाडी बढ्नु पर्ने बताए । उनले ओलम्पिक खेलमात्र नभई साँस्कृतिक रितीरिवाज र विश्व भातृत्वमार्फत शान्ति अभियानलाई अघि बढाउनु पनि रहेको बताए । ओलम्पिक डेलाई भब्यताका साथ मनाउने उद्धेश्य रहेता पनि कोभिड महामारीका कारण खुम्चिनु परेको उनले दुखेसो गरे ।
कार्यक्रमका संयोजक कमिसनका अध्यक्ष बिष्णुगोपाल श्रेष्ठले स्वागत मन्तब्य ब्यक्त गर्दै ओलम्पिक डेको बारेमा प्रकाश पारेका थिए । ओलम्पिक डेका अवसरमा नेपालका ३५ जिल्लाहरुमा विभिन्न कार्यक्रमहरु आयोजना हुने संयोजक श्रेष्ठले जानकारी गराए ।
सो अवसरमा मन्त्री मियाँ र अध्यक्ष श्रेष्ठले मैत्रीपूर्ण टेबल टेनिस खेलेका थिए । कार्यक्रममा कमिटिका पूर्व अध्यक्ष ध्रुवबहादुर प्रधान, उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्दराज राजवैद्य, उपाध्यक्ष ज्योती राणा, अशोक बज्राचार्य, महासचिव निलेन्द्र राज श्रेष्ठ, सचिव तुलसा थापा, रामजी बहादुर श्रेष्ठ, सदस्यहरु, ओलम्पियनहरुको उपस्थिती रहेको थियो ।