काठमाडौं, माघ ५ । नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल पुम्से तथा हाइ स्पिड किक तेक्वान्दो प्रतियोगिताको मुख्य तीन विधा ‘मोस्ट पपुलर प्लेयर’ तथा उत्कृष्ट पुरुष/महिला खेलाडीको पुरस्कार तीन जना तेक्वान्दोकर्मीले प्रायोजन गर्ने भएका छन् ।
उक्त प्रतियोगिता कोटेश्वर तेक्वान्दो डोजाङ, स्यूचाटार तेक्वान्दो डोजाङ, मूलपानी तेक्वान्दो डोजाङ, बाल गीताञ्जली स्कुल, मोर्निङ ग्लोरी स्कुल र काभ्रेस्थली तेक्वान्दो डोजाङ गरी ६ वटा संस्थाको संयुक्त आयोजनामा माघ १३ र १४ गते हुने भएको हो ।
प्रतियोगिता संयोजक एवं तेक्वान्दोका प्रमुख प्रशिक्षक नविनकुमार श्रेष्ठका अनुसार यूट्युबमा सर्वाधिक हेरिएको खेलाडीको भिडियोका आधारमा चयन गरिने एक सय ५० अमेरिकी डलर पुरस्कार राशी भएको ‘मोस्ट पपुलर प्लेयर’ युनिटी तेक्वान्दो एकेडेमी हङकङका अध्यक्ष दिल गुरुङले प्रायोजन गर्ने छन् ।
उत्कृष्ट पुरुष खेलाडीको पुरस्कार अमेरिकामा बस्दै आएका पूर्व तेक्वान्दो खलाडी गणेश थापा तथा उत्कृष्ट महिला खेलाडीको पुरस्कार धनुषाको लालगढ निवासी पूर्व तेक्वान्दो खेलाडी तिलक लामाले उपलब्ध गराउने छन् । दुबै विधाको पुरस्कार राशी जनहि एक सय अमेरिकी डलर रहेको छ ।
आयोजकले प्रतियोगितामा आर्थिक सहयोग गर्ने विभिन्न देश विदेशबाट सहयोग गर्नेहरुको नाम पनि सार्वजनिक गरेको छ । आयोजकका अनुसार प्रेमकुमार दर्नाल (साउदी अरब)ले ६ हजार, राष्ट्र राई (यूके)ले १५ हजार, घनश्याम गुरुङ (साउदी अरब)ले ५ हजार, गणेश गुरुङ (हङकङ) ले १० हजार, सुशिलकुमार श्रेष्ठ (जापान) ले ५ हजार, मकाउ तेक्वान्दो टिमले २० हजार, राकेश केसी (मकाउ) ले २५ हजार, अभय श्रेष्ठ (युएई)ले ५ हजार र पञ्च राना मगर (जापान)ले १० हजार उपलब्ध गराएका छन् ।
त्यस्तै, देउकाजी गुरुङ (हङकङ)ले ५ हजार, कुँवेर सापकोटा (नेपाल)ले १० हजार, रविन्द्र खड्गी (नेपाल)ले १० हजार, कुमार कार्की (अमेरिका)ले १० हजार, धीरज गुरुङ (युके)ले १५ हजार, विशाल खड्गी (अस्ट्रेलिया)ले १० हजार र नवराज पुडासैनी (नेपाल)ले १० हजार सहयोग गरेका छन् । त्यसैगरी, अन्य सहयोगीहरु थपिदै गएपछि सार्वजनिक गरिने आयोजकले जनाएको छ ।
पुम्सेमा ६० र हाइ स्पिड किकमा ३० गरी जम्मा ९० स्पर्धामा प्रतिस्पर्धा हुने छ । हाइ स्पिड किकको प्रतियोगिता नेपालमै पहिलो पटक हुन लागेको आयोजकले जनाएको छ । प्रतियोगितामा विभिन्न २९ राष्ट्रका एक हजार तीन सय खेलाडीको सहभागिता रहने बताइएको छ ।