काठमाडौं, पुस २० । नेपाल राष्ट्रिय मुवाँथाई संघले बार्षिक रुपमा प्रदान गर्दै आईरहेको बर्ष खेलाडी सम्मान पुरस्कारबाट पलिस्था कक्षपतीलाई सम्मान गरेको छ । पलिस्थालाई २०१९ को बर्ष खेलाडी सम्मानबाट पुरस्कृत गरिएको हो । कक्षपतीलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोईरालाले नगद ५० हजारसहित सम्मान पत्र प्रदान गरेका हुन् ।
कक्षपतीले २०१९ मार्च ७ देखि १८ तारिखसम्म मित्र राष्ट्र थाईल्याण्डमा सम्पन्न १६औं बिश्व मुवाँथाई च्याम्पियनसिप–२०१९ मा नेपालको प्रतिनिधित्व गर्दै ३० केजी तौल समूहमा स्वर्ण पदक प्राप्त गरेकी थिईन् । संघले पलिस्थालाई २०१९ को बर्ष खेलाडी घोषित गर्दै सम्मान गर्ने निर्णय गरेको थियो । तर कोभिड १९ का कारण सम्पूर्ण खेल गतिविधिहरु बन्द भएकाले हाल उक्त सम्मान गरिएको हो ।
यस्तै संघले २०१९ मा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने १२ उत्कृष्ट खेलाडीहरुलाई खेल पोशाक (ट्रायकसुट) प्रदान गरियो । पोशाक पाउने खेलाडीहरुमा गुणराज रुचाल, राहुल ठोकर, रसिव जारी, विजय लामा, दील ठोकर, अभिषेक राई, संदीप तामाङ्ग, सन्तोष खत्री, शर्मिला मोक्तान, संजय राई, गुनसाँग तामाङ्ग रहेका छन् ।
सम्मान कार्यक्रममा मिस नेपाल ईन्टरनेशनल २०१९, मिरा कक्षपती, चार पटकसम्म गिनिज बुक अफ रेकर्डमा नाम लेखाउन सफल खेलाडी दिनेश पार्कर, समाजसेवी प्रकाश श्रेष्ठलगायतको उपस्थिती रहेको थियो ।