काठमाडौं, मंसिर २९ । नेपाली खेलकुद पत्रकारको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले प्रत्येक वर्ष आयोजना गर्ने खेलकुद क्षेत्रको प्रतिष्ठित अवार्ड ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’को मिति तय गरिएको छ । खेलाडी र खेलकर्मीका लागि प्रदान गरिने नेपाली खेलकुदको सबभन्दा ठूलो अवार्डको १७औं संस्करण आगामी पुस २८ गते ललितपुरस्थित कराते एकेडेमीको हलमा सेमी भर्चुअलको माध्यमबाट हुने तय भएको हो ।
यो अवार्ड वर्षको सुरुवातमै गरिने भए पनि यसपटक कोरोना भाइरसको महामारीका कारण केही ढिलो हुन लागेको हो । कोरोना भाइरसको संक्रमण जोखिमका कारण सेमिभर्चुअल माध्यमद्वारा गरिने आयोजक एनएसजेएफका अध्यक्ष देवेन्द्र सुवेदी (दुर्गानाथ)ले आइतबार आयोजित अवार्ड मिति घोषणा कार्यक्रममा जानकारी दिए । घोषणा कार्यक्रममा आयोजक एनएसजेएफ अध्यक्ष सुवेदी र बजाज पल्सर मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले मुख्य प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार कम्पनीले अवार्डका लागि एनएसजेएफलाई चारवटा बजाज पल्सर एनएक्स मोटरसाइकल र अन्य विभिन्न उपहारहरू तथा नगदसहित २८ लाख ४० हजार ६ सय रुपैयाँ उपलब्ध गराउने छ । त्यसबापत अवार्डको नाम पल्सर स्पोर्टस अवार्ड हुनेछ ।
अवार्डमा वर्ष २०७६ मा गरेको प्रदर्शनका आधारमा उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट पारा खेलाडी र वर्षको उत्कृष्ट टिम तथा खेलकुदमा पुर्याएको विशेष योगदानको कदरस्वरुप स्पेशल अवार्ड, पूरा जीवन खेलकुदमा समर्पित गर्ने एक पाका खेलकर्मीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड, समर्थकको मतका आधारमा दिइने पिपल्स च्वाइस अवार्ड र नेपाली खेलकुदप्रति सहयोगी एकजना विदेशी पत्रकारलाई दिइने इन्टरनेशनल अवार्ड गरी १० विधामा खेलाडी तथा खेलकर्मीलाई पुरस्कृत गरिने छ ।
उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्डका विजेताले जनही एक थान पल्सर मोटरसाइकल र उपहारहरू पाउनेछन् । यसैगरी उत्कृष्ट युवा खेलाडी, पारा खेलाडी, स्पेशल अवार्ड र लाइफटाइम अचिभमेन्ट अवार्डका विजेताले जनही ५० हजार रूपैयाँ पुरस्कार प्रदान गरिने एनएसजेएफका महासचिव प्रज्वल ओलीले घोषणा कार्यक्रममा जानकारी दिए ।