काठमाडौं, मंसिर ५ । खेलाडी एवं प्रशिक्षक रविन्द्र मानन्धरले नेपालका लागि स्वर्ण हात पारेका छन् । क्यानडा कराते संघको आयोजनामा नोभेम्बर १५ मा भएको अनलाईन कराते प्रतियोगिता सातो कप इन्टरनेशनल २०२० को डिभिजन जि बर्ष माथिको पुरुष मास्टर्स ब्राउनदेखि ब्लाकबेल्ट समूहमा मानन्धरले स्वर्ण जितेका हुुन् ।
नरहरीपुर डोजो, मच्छेगाउका प्रमुख प्रशिक्षक समेत रहेका मानन्धरले युबिसी सितोरियो सातो हा कराते क्लबका माईक नाकात्सुलाई फाईनलमा पराजित गरेका थिए । नेपाल सितोरियो कराते संघको तर्फबाट प्रतिस्पर्धा गरेका उनले २३.५२ अंक जोडेका थिए । पराजित माईकले २२.०६ अंक प्राप्त गरेका थिए । मानन्धरले १५ दिन अघि मात्र पनि कराते फिलिपिन्स लिगको आयोजनामा भएको सातौं नासिमुरा कप अनलाईन कराते प्रतियोगितामा नेपालका लागि स्वर्ण जितेका थिए ।
प्रतियोगितामा नेपालले ४ स्वर्ण र २ कास्य गरि ६ पदक जितेको छ । नेपालको लागि स्वर्ण दिलाउने क्रममा महिला डिभिजन ३९ अन्तरगत ब्लुदेखि ब्राउन बेल्ट समूहमा निता आचार्यले २४.७२ अंकका साथ स्वर्ण जितिन् । आचार्यले युबिसी गोजुरियोकी थी अडसेनलाई पराजित गरेकी थिईन् । थीले २४.१० अंक प्राप्त गरेकी थिईन् । निताले अक्टोबर ३० र ३१ मा नेशनल कराते अफ ब्राजिलको आयोजनमा भएको अनलाईन कराते वल्र्ड च्याम्पियनसिमा पनि स्वर्ण हात पारेकी थिईन् । यस्तै निताले केरला कराते संघको आयोजनामा भएको सद्गुरु मास्टर्सकप अनलाईन ईन्टरनेशनल कराते काता च्याम्पियनसिपमा पनि स्वर्ण हात पारेकी थिईन् । नेपालका लागि अर्को २ स्वर्ण सन्जु देसार र मनिष कार्कीले जोडे । सञ्जुले डिभिजन २७ अन्तरगत महिला १४– १५ बर्ष ब्लुदेखि ब्राउन बेल्टको विधामा भानकोभर सातो हा सितोरियोकी भानिशा क्वानलाई फाईनलमा पराजित गर्दै स्वर्ण जितेकी हुन् । सञ्जुले २३.६२ अंक जोडेकी थिईन् भने पराजित क्वानले २२.२८ अंक जोडेकी थिर्ईन् । यस्तै मनिष कार्कीले डिभिजन ३० को पुरुष १४–१५ बर्ष ब्लुदेखि ब्राउन बेल्ट प्रतिस्पर्धामा इसिन काईका हिरोकी मेगावालाई पराजित गर्दै स्वर्ण जिते । मनिषले २४.४६ अंक प्राप्त गर्दा हिरोकीले २४.१६ अंक प्राप्त गरेका थिए । नरहरीपुर डोजो, मच्छेगाउँका उपाध्यक्ष हाल मकाउ निवासी मनिन कुमार महर्जनको सहयोगमा सहभागित जनाएको प्रतियोगितामा डिभिजन एफ अन्तरगत पुरुष ब्लाकबेल्ट ईलाईटमा स्वनिम मानन्धरले २२.९२ अंकका साथ कास्य प्राप्त गरे ।
यस्तै डिभिजन डी पुरुष १६–१७ बर्ष ब्लाकबेल्ट ईलाईटमा प्रनिल मानन्धरले २२.४० अंकका साथ कास्य प्राप्त गरेको खेलाडी एवं प्रशिक्षक रविन्द्र मानन्धरले जानकारी गराए । बिजयी खेलाडीहरु सवै नरहरीपुर डोजो, मच्छेगाउँका खेलाडीहरु रहेको समेत प्रशिक्षक मानन्धरले बताए । प्रतियोगितमा क्यानडा लगायत नेपाल, भारत, युएसए, मोजाम्बिक, अष्ट्रेलिया, पोर्चुगल, जापान र जर्मनी गरि ९ राष्ट्रको सहभागिता रहेको थियो ।