काठमाडौं, कात्तिक २८ । नेपाली राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशसँग पराजित भएको छ । आज ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा भएको खेलमा घरेलु टोली बंगलादेशले नेपाललाई २–० गोल अन्तरले पराजित गरेको हो ।
खेलमा नेपाल पहिलो हाफमा १–० गोलले पछि परेको थियो । दोस्रो हाफमा बंगलादेशले थप एक गोल गर्दा नेपाल पराजित हुन पुग्यो । पहिलो हाफको १०औं मिनेटमा मोहमद नाबिबले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । ८०औं मिनेटमा रहमानले गोल गर्दै बंगलादेशलाई २–० को जित दिलाए । आजको खेलमा नेपाली युवा डिफेन्डर विकाश खवासले बंगलादेशविरुद्ध डेब्यू गरे । त्यस्तै एरिक विष्टले विक्रम लामाको स्थानमा खेलको ४२औं मिनेटमा डेब्यू गरे । विकासले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउँदै डेब्यू गर्ने अवसर पाएका हुन् । बंगलादेश र नेपालबीचको दोस्रो मैत्रीपूर्ण खेल मंसिर २ गते हुनेछ ।
बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीसहित ३४ जना हाल बङ्गलादेशको ढाकामा रहेका छन् । नेपाली टोलीमा अजित भण्डारी, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, भरत खवास, विकास खवास, विक्रम लामा, विमल राना, विशाल श्रेष्ठ, दर्शन गुरुङ, दीप कार्की, दिलेन लोक्ताम, जर्जप्रिन्स कार्की, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, पुजन उपकोटी, रञ्जित धिमाल, रवि पासवान, सरोज दाहाल, सेसेहाङ आङदेम्बे, सुवास गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ र छिरिङ गुरुङ छन् । टोलीको प्रशिक्षकमा बालगोपाल महर्जन छन् । मुख्य प्रशिक्षक योहान कालिन अनुपस्थित भएपछि एन्फाले प्रशिक्षणको जिम्मेवारी बालगोपाल महर्जनलाई दिएको हो । टोलीको सहायक प्रशिक्षकमा किरण श्रेष्ठ र गोलकिपिङ प्रशिक्षकमा विकास मल्ल छन् ।
मैत्रीपूर्ण खेल खेल्न बङ्गलादेशको राजधानी ढाका पुगेका नेपाली राष्ट्रिय फुटबल टोलीका एक खेलाडी भने कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । ढाकामा गत बुधबार गरिएको कोरोना परीक्षणका क्रममा ती नेपाली खेलाडीमा कोरोना देखिएको अखिल नेपाल फुटबल महासङ्घ (एन्फा)ले जनाएको छ । नेपाली टोलीका अन्य खेलाडीको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ । कोरोना देखिएका खेलाडीलाई अस्पतालको आइसोलेसनमा राखिएको एन्फाले जनाएको छ । ती खेलाडीको अवस्था सामान्य रहेको छ ।
सन् २०१५ मा मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशसँग १–० ले पराजित भएको थियो । पछिल्लो पटक नेपालले सन् २०१८ मा बङ्गलादेशमा सम्पन्न साफ च्याम्पियनसिपमा बङ्गलादेशसँग खेलेको थियो । त्यसबेला नेपालले बङ्गलादेशलाई पराजित गरेको थियो ।