काठमाडौं, कात्तिक २४ । काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिपमा थाइल्यान्डका पाकानोन चान्चारान र सुरिनेमकी चियानी तिजिङहिनतोजी उत्कृष्ट खेलाडी भएका छन् । पाकानोन पुरुष र चियानी महिलातर्फ उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।
च्याम्पियनसिपमा पाकानोनले छात्र १२ वर्षमुनिको प्रतिस्पर्धामा स्वर्ण जितेका थिए । चियानीले भने महिला १४ वर्षमुनिको स्पर्धामा स्वर्ण जितेकी थिइन् । उनीहरु अंकका आधारमा उत्कृष्ट खेलाडी घोषित भएको प्रतियोगिता संयोजक कुमार लामा घिसिङले जानकारी दिए । उत्कृष्ट पुरुष तथा महिला खेलाडीले जनही एक सय अमेरिकी डलर पुरस्कार पाउने छन् । पुरुषतर्फको पुरस्कारको प्रायोजन एभरेष्ट तेक्वान्दो एकेडेमी हङकङका संस्थापक रविनकुमार नाल्बोले गरेका छन् । यस्तै महिलातर्फको पुरस्कारको प्रायोजन होराइजन तेक्वान्दो संघ हङकङका संस्थापक देउकाजी गुरुङले गरेका छन् ।
च्याम्पियनसिपको मोस्ट लाइक भिडियोको निर्णय भने आगामी शुक्रबार मात्रै गरिने प्रतियोगिता संयोजक घिसिङले जानकारी दिए । यूट्युबमा सबैभन्दा बढी भ्यू प्राप्त भिडियोले मोस्ट लाइक भिडियोका रुपमा दुई सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने छ । च्याम्पियनसिपमा मलेसिया टि च्याम्पियन बनेको छ । मलेसियाले ६ स्वर्ण, चार रजत र सात कांस्य जितेको थियो । यस्तै आयोजक नेपाल चार स्वर्ण, ७ रजत र १० कांस्य जित्दै दोस्रो भएको छ । मेक्सिकोले दुई स्वर्ण र एक रजत जित्दै तेस्रो स्थान हात पारेको छ ।
च्याम्पियनसिपमा नेपालसहित १९ राष्ट्रका तीन सय ६२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । च्याम्पियनसिपमा नेपालका एक सय ९० र हङकङ, मलेसिया, श्रीलंका, भारत, म्यानमार, मकाउ, सुरिनेम, थाइल्यान्ड मेक्सिको, अस्ट्रेलिया, जापान, नाइजेरिया, बंगलादेश, टिमोर, बेलायत दक्षिण कोरिया, फिलिपिन्स र कम्बोडियाका एक सय ७१ खेलाडीले सहभागिता जनाएका थिए । युनाइटेड तेक्वान्दो डोजाङ, सीतापाइला तेक्वान्दो डोजाङ, सगरमाथा न्यु बानेश्वर तेक्वान्दो डोजाङ र पिङ्ला तेक्वान्दो डोजाङको संयुक्त पहलमा च्याम्पियनसिप आयोजना गरिएको हो । च्याम्पियनसिपमा महिला र पुरुष गरी १८ उमेर समूहमा प्रतिस्पर्धा भएको थियो ।