काठमाडौं, कात्तिक २२ । नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीको ग्रेडिङ (बर्गीकरण)मा हेरफेर गरेको छ । आज बसेको क्यानको भर्चुअल बोर्ड बैठकले खेलाडीको वर्गीकरणमा हेरफेर गरेको हो ।
क्यानले गत असोजमा पुरुष र महिला क्रिकेट खेलाडीहरुको बर्गीकरण गरेको थियो । तर ग्रेडिङ त्रुटीपूर्ण भएको भन्दै क्रिकेट खेलाडी संघले असन्तुष्टि जनाएको थियो भने राष्ट्रिय खेलकुद परिषद्ले स्पष्टिकरण सोधेको थियो । अहिले खेलाडी वर्गीकरण छनौट समितिले सोमपाल कामीलाई बीबाट ए, अविनाश बोहोरालाई सीबाट बीमा बढुवा गरेको छ भने ललितनारायण राजवंशीलाई बी र सन्दीप जोरालाई सी ग्रेडमा राखेको छ । जबकी असोजमा भएको ग्रेडिङमा ललित र सन्दीप दुबैलाई समावेश गरिएको थिएन । महिलातर्फ सरस्वती चौधरीलाई बी तथा ममता चौधरी र सुमन खतिवडालाई सी ग्रेडमा राख्ने निर्णय भएको क्यान अध्यक्ष चतुरबहादुर चन्दले बताएका छन् । राष्ट्रिय टिमबाट तीनै जना असोजमा भएको बर्गीकरणमा नपरेका कारण क्यानको केन्द्रीय सम्झौतामा परेका थिएनन् । जबकी राष्ट्रिय टिमबाट खेल्दै नलेखेका केही क्रिकेटरलाई बी र सी ग्रेडमा राख्ने निर्णय भएको थियो । जसका कारण पहिलो पटक भएको महिला क्रिकेटरको ग्रेडिङ पनि विवादित बनेको थियो । क्यानले अहिले ग्रेडिङमा परिसकेकाहरुलाई चलाएको छैन तर यसअघि छुटेका तीनलाई बर्गीकरणमा समावेश गर्ने निर्णय गरेको छ । परिमार्जित वर्गीकरण अनुसार पुरुषतर्फ २० र महिलातर्फ २२ खेलाडी केन्द्रीय सम्झौतामा परे ।
केन्द्रीय सम्झौतामा पुरुषतर्फ ‘ए’ ग्रेडमा पर्ने खेलाडीहरुमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, बसन्त रेग्मी,दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी, सोमपाल कामी रहेका छन् भने बी ग्रेडमा सुसन भारी, आरिफ शेख, पवन सर्राफ, अविनास बोहरा र सी ग्रेडमा सुवास खकुरेल, रोहित पौडेल, कुशल मल्ल, रसिद खान, कमल सिंह ऐरी, ललित राजवंशी, सन्दीप जोहरा रहेका छन् । त्यसैगरी, महिलातर्फ ए ग्रेडमा रुबिना क्षेत्रि, नेरी थापा, इन्दु बर्मा, सिता राना मगर, करुणा भण्डारी रहेका छन् भने बी ग्रेडमा ज्योति पाण्डे, अप्सरी बेगम,रोमा थापा, बिन्दु रावल, कविता जोशी, ऋतु कजौनिया, काजल श्रेष्ठ, सरिता मगर, सरस्वती चौधरी र सी ग्रेडमा कविता कुँवर, डोली भट्ट, अनुराधा चौधरी, सोनु खड्का, अञ्जली चन्द, सोभा आले, सुमन खतिवडा, ममता चौधरी रहेका छन् । त्यस्तै, पुरुषतर्फ ‘ए’ ग्रेडमा परेका खेलाडीले ५० हजार, ‘बी’ले ४० हजार र ‘सी’ले मासिक ३० हजार तलब पाउने छन् । महिलातर्फ ‘ए’ ग्रेडमा परेकाले १५ हजार, ‘बी’ ले १२ र ‘सी’ मा परेकाले मासिक १० हजार पाउने छन् ।
कोरोनाको महामारीलाई मध्यनजर गर्दै हाललाई खेलाडी सम्झौता २०२० जनवरी देखि ६ महिनाको लागि गर्ने निर्णय गरिएकोसमेत क्यानले विज्ञाप्तिमा जनाएको छ । आज बसेको बैठकले भारतीय दूतावासको सहयोगमा किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको पबेलियन हलको स्तरोन्नति गर्ने निर्णय गरेको छ । त्यस्तै नेपाल क्रिकेट संघको वार्षिक साधारणसभा आगामी मंसिर ३ गते गर्ने निर्णय गरिएको छ भने राष्ट्रिय क्रिकेट टिम (पुरुष)को बन्द प्रशिक्षण सम्पूर्ण स्वास्थ्य प्रोटोकल पूरा गर्दै आगामी मंसिर १० देखि सञ्चालन गर्ने निर्णय गरिएको जनाइएको छ ।