काठमाडौं, भाद्र २३ । राष्टिय खेलकुद परिषद्का नवनियुक्त बोर्ड सदस्य सम्पन्न श्रेष्ठ र प्रथम राष्ट्रिय भर्चुअल सेल्फ–डिफेन्स च्याम्पियनसिप–२०७७ का पदक बिजेता खेलाडीलाई सम्मान गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बाका राजनीतिक सल्लाहाकार गोबिन्दबहादुर नेपाली, हाप्किडो संघ गण्डकी प्रदेश उपाध्यक्ष तारामाया थापा मगर, खेदकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष एकराज गिरी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्की अध्यक्ष दिपकबहादुर गोदारले राखेप सदस्य श्रेष्ठ, खेलाडीद्वय कृतिका गिरी र अन्जना परियारलाई सम्मानपत्र र खादा ओढाएर सम्मान गरेका थिए ।
नुवाकोट जिल्ला मार्शल आर्टस संघले आयोजना गरेको प्रथम राष्ट्रिय भर्चुअल सेल्फ–डिफेन्स च्याम्पियनसिपमा कास्कीबाट सहभागी कृतिका गिरी र अन्जना परियारले कास्य पदक जितेका थिए । सम्मान कार्यक्रममा मुख्यमन्त्रीका सल्लाहाकार नेपालीले खेलाडीले खेलेरै बाच्न सक्ने अवस्था सृजना गर्नुपर्ने बताए । उनले प्रदेश सरकारले खेलाडीलाई खेलेरै जिवनयापन गर्नसक्ने वातावरण सृजना गर्नेगरि नीति तथा योजना निर्माणमा केन्द्रीत रहेको जानकारी गराए । उनले सफलता प्राप्त गर्न लगनशिलता, ईमानदारीता र निरन्तरता हुनुपर्ने भन्दै खेललाई जिवनसंग जोडनुपर्ने र त्यस्तो हुन नसके विस्थापित तथा पलायनको अवस्था आउने बताए । त्यस्तै, २२ बर्ष खेलाडीका रुपमा खेल्दै अहिले यो स्थानसम्म आएको स्मरण गर्दै नवनियुक्त बोर्ड सदस्य श्रेष्ठले खेलकुद क्षेत्रको विकास र खेलाडीको पक्षमा काम गर्नसधैं तत्पर रहेको र आफूले खेलाडीको मर्म, भावना, पीडा आत्मसाथ गरेको बताए ।
कार्यक्रममा हाप्किडो संघकी गण्डकी प्रदेश उपाध्यक्ष तारामाया थापामगरले नेपालमा मार्शल आर्ट्स खेलको सम्पूर्ण बिधालाई सरकारले विभेद गरेको बताइन् । उनले भनिन्, ‘खेलाडी भनेको राष्ट्रको गहना हुन् । खेलाडीलाई पहिचान गर्न सके राष्ट्रको पहिचान, परिवर्तन, विकासमा समृद्धि हुनेछ । नेपालमा रहेको सबै खेललाई समान ढंगले समान अधिकार, सेवा–सुविधा, पुरस्कार, इज्जत, मान–सम्मान दिनुपर्छ । किनकि अन्तर्राष्ट्रियस्तरमा मार्शल आर्ट्स खेलले धेरैभन्दा धेरै पदक लिएर नेपालको इज्जत, मान–प्रतिष्ठा र गौरव बढाएको छ । हाप्किडो खेलको संगठन सातै प्रदेशको ५० जिल्लामा समिति गठन भएको र जिल्लाहरुमा हजारौ खेलाडीहरुले नियमित प्रशिक्षण गरिरहेको छ । हाप्किडो केन्द्रिय संघको पोलिसी अनुसार हाप्किडो खेल कार्यक्रममार्फत युवा खेलाडीलाई शिक्षा र खेल दुबैमा समेटेर चेतना र जागरणको रुपमा अभियान चलाई व्यवसायी र रोजगारीउन्मुखतिर अघि बढाइएको छ ।’
त्यसैगरी, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष एकराज गिरीले खेलकुदमा गफभन्दा काम गर्ने नेतृत्वको आवश्यकता रहेको भन्दै खेल पदाधिकारीले खेलकुद र खेलाडीको पक्षमा काम गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्की अध्यक्ष दिपकबहादुर गोदारले खेलाडीहरुलाई चाहिने पूर्वाधार र प्रशिक्षणमा ध्यान दिनुपर्नेमा जोड दिए । कार्यक्रम कास्की जिल्ला हाप्किडो संघका अध्यक्ष मदन जिसीको अध्यक्षतामा भएको थियोे भने सञ्चालन सचिव रविन गुरुङले गरेका थिए ।