काठमाडौं, साउन २८ । नेपालका तर्फबाट पहिलो अन्तर्राष्ट्रिय फुटबल खेलमा सहभागी इन्द्रसिंह सुब्बाको ८४ वर्षको उमेरमा निधन भएको छ । मुटुरोगबाट पीडित उनको उपचारका क्रममा बाँसबारीस्थित सहिद गंगालाल हृदय केन्द्रमा मंगलबार बिहान निधन भएको हो ।
उनको निधनको पुष्टि गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङले श्रद्धाञ्जलि व्यक्त गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘नेपाल फुटबल टिम सहभागी प्रथम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आगा खाँ गोल्ड कप (पाकिस्तान) मा नेपाली टिमका महत्वपूर्ण सदस्य इन्द्रसिंह सुब्बाको असामयिक निधनको खबरले स्तब्ध बनायो ।’
सन् १९६३ मा नेपालको राष्ट्रिय फुटबल टिम पहिलो पल्ट अन्तर्राष्ट्रिय प्रतियोगिता आगाँ खाँ गोल्डकप खेल्न पूर्वी पाकिस्तान (हालको बंगलादेश) जाँदा सुब्बा नेपाली टिमका सदस्य थिए । नर शमशेर राणाको नेतृत्वमा गएको नेपाली टोलीमा १८ खेलाडी र ३ व्यवस्थापक समावेश थिए । तर, टिममा प्रशिक्षक थिएनन् । किनभने त्यतिबेलासम्म नेपालमा प्रशिक्षकबिना नै फुटबल खेल्ने गरिन्थ्यो । नेपाली टिममा गजेन्द्र बस्नेत, अफताब उद्दिन, जनकशमशेर थापा, ज्ञान धाख्वा, आरबी राजा, बी बिष्ट, नरशमशेर राणा, विजयकुमार श्रेष्ठ, प्रकाशविक्रम शाह, प्रभुधन सुब्बा, बाबा गुरुङ, अमर थापा, बीआर थापा, पदम श्रेष्ठ, कोमल पाण्डे, विष्णु बराल, इन्द्रसिंह सुब्बा, लक्ष्मणविक्रम शाह, शालिग्राम अधिकारी र ज्ञानबहादुर श्रेष्ठ थिए । नेपाली टोली काठमाडौंमा २ दिनको सामान्य अभ्यास गरेर ढाका उडेको थियो । प्रतियोगिताका लागि पूर्वाञ्चल (विराटनगर र धरान) बाट ६ तथा बाँकी काठमाडौंबाट गरी खेलाडी छानिएका थिए । ढाका वन्डरर्स विरुद्धको पहिलो अन्तर्राष्ट्रिय खेलमा नेपाल ६–० ले पराजित भएको थियो । नेपालले दोस्रो खेल वेस्टर्न रेल्वे (पाकिस्तान) विरुद्ध खेल्यो । नेपाल त्यो खेलमा पनि ७–० ले पराजित भयो । ढाका पुलिस विरुद्धको तेस्रो तथा अन्तिम खेलमा भने नेपाल विजयी भयो । नेपालको तर्फबाट प्रकाशविक्रम शाहले विजयी गोल गरेको सो खेल नै नेपालको पहिलो अन्तर्राष्ट्रिय जित हो ।