काठमाडौं, साउन १९ । नेपाल ट्राईयाथलन संघको आयोजना तथा वल्र्ड कोचेज एकेडेमीको सहयोगमा अनलाईन स्विमिङ्ग लेभल १ कोचिङ्ग कोर्स सम्पन्न भएको छ । प्रशिक्षकहरुमा वैज्ञानिक प्रशिक्षण विधि र पौडीसम्बन्धी प्राविधिक ज्ञान प्रदान गर्दै पौडी खेलाडीहरुमा प्रभावकारी ज्ञान प्रदान गर्ने उद्धेश्यले शनिबारदेखि शुरु भएको उक्त कोर्समा ट्राईयाथलन र पौडीसंग सम्बन्धित २५ प्रशिक्षकहरुले सहभागिता जनाएका थिए ।
नेपालमा पौडी सम्वन्धि प्राविधिक ज्ञान प्रदान गर्न अनलाईनमार्फत प्रशिक्षण प्रदान गर्न लागेको यो पहिलो पटक हो । प्रशिक्षार्थीहरुलाई वल्र्ड कोचेज एकेडेमीका संस्थापक निर्देशक एवं सिंगापुरका प्रशिक्षक युजित लिले अनलाईनमार्फत प्रशिक्षण प्रदान गरेका थिए । वल्र्ड कोचेज एकेडेमीले चिन, हङ्गकङ्ग, मलेसिया, ईन्डोनेसिया, सिंगापुर र भारतमा सफलतापूर्वक कोर्स संचालन गरिसकेको छ ।
कोभिड १९ का कारण खेल गतिविधि ठप्प भईरहेको अवस्थामा प्रशिक्षकहरुलाई पौडी सम्बन्धि ज्ञान प्रदान गर्दै प्रशिक्षकको स्तर वृद्धि गर्न संघले निकैनै महत्वपूर्ण भूमिका निर्वाह गरको प्रशिक्षणमा सहभागि प्रशिक्षकहरुले बताए । प्रशिक्षक लिले पौडी प्रशिक्षण सम्बन्धि उच्च ज्ञान प्रदान गर्नुका साथै प्रशिक्षकको भूमिका र उत्तरदायित्व, प्रशिक्षण प्रणाली र खेल सम्बन्धि बिशेष ज्ञान प्रदान गरेका थिए । प्रशिक्षकहरुले प्राप्त गरेका यस प्रकारको ज्ञानले नयाँ खेलाडी उत्पादनमा ठूलो सहयोग पुग्नुका साथै भईरहेका खेलाडीहरुको स्तर बृद्धि गर्न ठूलो सहयोग पुगेको संघले जनायो ।
ट्राईयाथलनमा नेपालले छोटो समयमा नै विभिन्न अन्तर्राष्ट्रियस्तरका खेलमा पदक हात पार्नुका साथै दक्षिण एशियाली खेलकुदमा पहिलो पटकको सहभागितामा रजत र कास्य पदक प्राप्त गरेको थियो । त्यस्तै, दोश्रो सहभागितामा १३औं दक्षिण एशियाली खेलकुदमा दुइृ स्वर्ण, तीन रजत र एक कास्य जित्न सफल भएको थियो । ट्राईयाथलन पौडी, साईक्लिङ्ग र दौडको मिश्रीत खेल हो ।