काठमाडौं, असार २८ । प्रभुदास थापा मगरको अध्यक्षतामा ललितपुर जिल्ला मार्शल आर्ट्स हाप्किडो संघ गठन भएको छ । नेपाल मार्शल आर्ट्स हाप्किडो संघका केन्द्रीय सदस्य अतुल राज पौडेलको अध्यक्षता र ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भरतप्रसाद पराजुलीको प्रमुख आतिथ्यतामा सो संघ गठन भएको हो ।
नव गठित संघको उपाध्यक्षमा कपिल सागर जिन्दाजी गुरुङ र अनुजा थापा मगर रहेका छन् भने सचिवमा राम महर्जन, कोषाध्यक्षमा समीर गुरुङ र सदस्यहरुमा सुरज भुजेल, सूर्य तामाङ, साजन तामाङ, किशोर केसी रहेका छन् ।
कार्यक्रममा नेपाल मार्शल आर्ट्स हाप्किडो संघ तथा दक्षिण एसियाली हाप्किडो महासंघका अध्यक्ष काली बहादुर घर्ती मगर, नेपाल बक्सिङ संघका प्रमुख प्रशिक्षक प्रकाश थापा मगर, बक्सिङ अन्तर्राष्ट्रिय रेफ्रीरजज रामचन्द्र थापा मगर, हाप्किडो केन्द्रीय उपाध्यक्ष नारायण पौडेल, सचिव हुमप्रसाद खनाल र कोषाध्यक्ष इन्द्र महतलगायत प्रशिक्षक तथा खेलाडीहरूको पनि उपस्थिति थियो ।
पछिल्ला वर्ष सेमिनार र प्रतियोगिताहरूमा व्यस्त यो संघ अहिले सङ्गठन पुनर्संरचनाको क्रममा छ । अध्यक्ष घर्ती मगरका अनुसार यसै संघले नेपालमै विश्व च्याम्पियनसिपको आयोजना गर्ने तयारी समेत गरिसकेको छ । सन् २०२२ को अगस्ट २६, २७ र २८ मा काठमाडौँमा नेपाल मार्शल आर्ट्स हाप्किडो संघको आयोजनामा काठमाडौँमा हाप्किडो विश्व च्याम्पियनसिप आयोजना हुने छ । साथै सोही समयमा हाप्किडो वर्ल्ड क्लास सेमिनार पनि आयोजना हुने जनाइएको छ । सेमिनारमा विभिन्न देशका १५ ग्रान्डमास्टरले प्रशिक्षण दिने छन् ।