काठमाडौं, जेठ ३० । अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी)को आयोजनामा लकडाउन कोभिड–१९ अनलाइन भिडियो पुम्से च्याम्पियनसिप हुने भएको छ । अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको आईओएफटीसीले दुई चरणमा गरी अनलाइन प्रतियोगिता गर्न लागेको आईओएफटीसीका संस्थापक एवं प्रतियोगिता निर्देशक दिवाकर महर्जनले जनाए ।
निर्देशक महर्जनले जुन २१ देखि २७ तारिखसम्म पहिलो चरणमा कलर बेल्ट प्रतिस्पर्धा हुनेछ भने यल्लो, ग्रिन, ब्लु र रेड बेल्टको प्रतिस्पर्धामा पुरुष/महिलामा समान ७–७ गरी १४ स्पर्धामा प्रतिस्पर्धा हुने छ । त्यसपछि जुलाई १२ देखि १८ तारिखसम्म ब्ल्याकबेल्टतर्फ दोश्रो चरणमा खेल हुने छ । पुरुष/महिलामा समान ११–११ गरी २२ पदकका लागि भिडन्त हुने छ । दुवै चरणको प्रतिस्पर्धा सबैका लागि खुला रहेको निर्देशक महर्जनले जानकारी गराए ।
डेइडो, युएसए, एभरेष्ट तेक्वान्दो संघ र युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन (युयुएनटीएफ) को सहयोगमा हुन लागेको प्रतियोगितामा कम्तिमा पनि २५ राष्ट्रको सहभागिता अपेक्षा गरिएको आयोजकले जनाएको छ । सहभागीले दुई मिनेटभन्दा बढाइ श्रब्यदृष्य पठाउनु पर्ने छ । पठाइएको श्रब्यदृष्यलाई विश्व तेक्वान्दो महासंघबाट मान्यता प्राप्त निर्णायक प्यानलले मूल्यांकन गरी नतिजा सार्वजनिक गर्ने छन् ।
प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न महर्जनसहित रिचार्ड स्याक्स्, रेमन्ड सु, लभ गोर्खाली, विपिनश्रेष्ठ, एलेक्जनडर लिम, किशोर महर्जन र सुदिनमहर्जन सम्मिलित आयोजक समिति गठन गरिएको छ । बढीभन्दा बढी खेलाडीले सहभागिता जनाउन सकुन् भन्ने उद्देश्यले दर्ता शुल्क पनि थोरै राखिएको निर्देशक महर्जनले अवगत गराए । सहभागीले कलर बेल्टतर्फ पाँच युएस डलर र ब्ल्याकबेल्टतर्फ १० युएस डलर बुझाउनु पर्ने छ । नेपाली खेलाडीको सहजीकरणका लागि रामचन्द्र ब्यञ्जनकार, रजिन सिंह, अर्जुन महर्जन र निरोज गौतम सम्मिलित ४ सदस्यीय टोली गठन गरिएको छ । अन्य देशको हकमा पनि सम्र्पक व्यक्ति तोकिएको छ । आईओएफटीसीको मुख्य प्रतियोगिता अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिपको १३औं संस्करण कोरोना भाइरसका कारण स्थगित भएपछि आयोजकले थोरै भएपनि खेलाडीको मनोबल उच्च बनाउन अनलाइन प्रतियोगिता आयोजना गर्न लागेको निर्देशक महर्जनले बताए ।
च्याम्पियनसिपको १३औं संस्करण अमेरिकाको मिचिगनमा यसै वर्षको मे १ र २ तारिखमा हुने तालिका थियो । उक्त च्याम्पियनसिप हरेक दुई वर्षको अन्तरालमा एक पटक अमेरिका र अर्को पटक अमेरिका बाहिर हुँदै आएको थियो । १२औं संस्करण सकिँदासम्म अमेरिकाको पोर्टल्यान्डमा पाँच पटक र नेपालमा चार पटक भइसकेको छ । बाँकी १–१ संस्करण भारत, बेलायत र हङकङमा भएका थिए ।