काठमाडौं, फागुन १७ । आयोजक न्यू समिट र सगरमाथा कलेज अफ साइन्स एन्ड टेक्नोलोजी कलेजले आठौं राष्ट्रव्यापी त्रिबि बीएससी सीएसआईटी कप टी–२० क्रिकेट प्रतियोगितामा आज बिजयी शुरुवात गरेका छन् । डिफेन्डिङ च्याम्पियन समेत रहेको आयोजक न्यू समिटले सेन्टजेभियर्सलाई ४५ रनले हराउँदा सगरमाथाले १ विकेटले स्वस्तिक कलेजलाई स्तब्ध बनायो ।
मूलपानी क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा आयोजक न्यूसमिट कलेजले टस जितेर पहिलो ब्याटिङ गर्दै १५ ओभरको खेलमा ६ विकेटको क्षतिमा ११४ रन जोड्न सफल भयो । म्यान अफ द म्याचसमेत चुनिएका प्रनव डाँगीले ३४ बलको सामना गर्दै ५ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ४७ रन जोडे । सेन्टजेभियर्सका प्रसुन्न पौडेलले २ ओभरमा २१ रन खर्चिएर २ विकेट लिएका थिए ।
सेन्टजेभियर्स कलेजले ११५ रनको चुनौती पछ्याउन क्रममा ९ विकेटको क्षतिमा ६९ रनमात्र जोड्न सक्यो । सेन्टजेभियर्सका सन्दिप भुजेलले २३ बलमा सर्वाधिक १३ रन बनाए । ४५ रनले खेल जितेको न्यू समिटका लागि कप्तान राजिब गुरुङले कसिलो बलिङ गर्दै ३ ओभरमा १८ रन खर्चिएर ३ विकेट लिदा बिशाल जोशीले पनि २ ओभरमा २० रन दिएर ३ विकेट लिन सफल भएका थिए ।
दोश्रो खेलमा सगरमाथाले स्वतिक कलेजमाथी १ विकेटको रोमान्चक जित निकाल्यो । पहिलो ब्याडिङ रोजेको स्वतिकले सगरमाथाका लागि २० ओभरको खेलमा ११९ रनको चुनौती पेश गर्दा अनिस श्रेष्ठले सर्वाधिक ३७ रन जोडेका थिए । सगरमाथालाई जित दिलाउन महत्वपूर्ण भूमिका खेलेका अनुप नेपालले ४ ओभरको बलिङमा १ मेडन राख्दै १६ रन खर्चिएर २ विकेट लिदा ब्याटिङतर्फ महत्वपूर्ण २८ रन जोड्दै टिमलाई जिताउदै मैदान बाहिरिएका थिए । सगरमाथाका रिशफजंग कार्कीले सर्वाधिक ३० रनको योगदान दिएका थिए ।
फागुन २८ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटनमा बागमती प्रदेशका सभासद मणिराम फुयल, न्यू समिट कलेजका प्रिन्सिपल डा.शिवदत्त ज्ञवाली, निर्देशकद्वय चोकराज दबाडी, भरत गिरी, अजयप्रसाद ढकाललगायतको उपस्थिति रहेको थियो । प्रतियोगिताका विजेताले ६० हजार र उपविजेताले ४० हजार नगद पुरस्कार पाउने छन् ।