काठमाडौं, माघ २६ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब र नेपाल पुलिस क्लबले उत्कृष्ट भलिबल टिमको सम्मान पाएका छन् । शनिबार तेश्रो एनभीए अवार्ड कार्यक्रमको आयोजना गर्दै नेपाल भलिबल संघले प्रहरी बलको एपीएफ क्लबको महिलातर्फको टिम र पुलिस क्लबको पुरुषतर्फको टिमलाई नगद एक लाखसहित सम्मान गरेको हो ।
नेपाल भलिबल संघद्वारा सम्बन्धन प्राप्त प्रतियोगीताहरुमा एपिएफले महिलातर्फ १० मा ९ प्रतियोगितामा विजयी हुँदै उत्कृष्टता हासिल गरेको हो । त्यस्तै पुलिसले पुरुषतर्फ ९ खेलमध्ये ६ खेलमा विजयी हुँदै नेपाल पुलिस उत्कृष्ट टिम घोषित भएको हो । त्यस्तै खेलाडीतर्फ महिलामा एपीएफ क्लबकी सरस्वती चौधरी र पुरुषमा नेपाल पुलिसका कुलबहादुर थापा बर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
भलिबलका उदियमान खेलाडीहरुमा महिलातर्फ उषा भण्डारी (पुलिस क्लब) र सरण सामरी क्षेत्री (टिएसी) घोषित भएका छन् । त्यसैगरी, महिलातर्फ एपीएफका ज्ञानेन्द्र बिष्ट र पुरुषतर्फ पुलिसका सरोज श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्ट खेलाडी तथा प्रशिक्षकहरुले नगद २५ हजारसहित सम्मान पत्र प्राप्त गरे । यसैगरी, भलिबल खेलमा लामो समयसम्म आवद्ध रहि भलिबल अन्तर्राष्ट्रिय खेलाडी जीवनबाट सन्यास लिएकी कोपिला उप्रेतीलाई संघले सम्मान स्वरुप नगद ५० हजारसहित सम्मानपत्रले सम्मान गर्यो । उप्रेतीले ६१ सालदेखि अनवरत रुपमा भलिबल खेलको खेलाडीको रुपमा आफुलाई उभ्याएकी थिईन् । सम्मान गर्ने क्रममा नेपालमा भलिबल खेलको बिकास र विस्तारमा अनवरत लागिपर्ने न्यू डायमण्ड एकेडेमीका संस्थापक एवं प्रशिक्षक तथा नेपाल भलिबल संघ विद्यालय कमिसनका उपाध्यक्ष कुमार राई पनि रहेका छन् । राईलाई नगद २५ हजारसहित अभिनन्दन पत्रले सम्मान गरिएको हो ।
सम्मान कार्यक्रममा नेपालमा भलिबल खेलको विकासमा सहयोग पुर्याउने नेदरल्याण्ड भलिबल संघका बिकास निर्देशक मि.पिटर भान तरेललाई पनि सम्मान गरिएको थियो । नेपाल भलिबल संघले आफ्ना खेलाडी, प्रशिक्षक तथा टिमलाई विभिन्न खेलमा देखाएको उत्कृष्ट नतिजाका आधारमा मूल्याङ्कन गर्दै बिगत तीन बर्षदेखि सम्मान गर्ने कार्यक्रमको आयोजना गर्दै आईरहेको छ ।
शनिबार एक कार्यक्रमबीच संघीय प्रतिनिधिसभा सांसद एवं नेपाल ओलम्पिक कमिटिका अध्यक्ष माननिय जीवनराम श्रेष्ठले बर्षका उत्कृष्ट खेलाडी, प्रशिक्षक तथा टिमलाई संघद्वारा प्रदान गरिएको नगद रकमसहित सम्मान पत्रद्वारा सम्मान गरे ।
सोही कार्यक्रमका दौरान बंगलादेशको राजधानी ढाकामा आयोजना भएको प्रथम एभिसी एशियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप २०१९ मा विजय हासिल गर्दै राष्ट्रको नाम उच्च राख्न सफल नेपाली महिला भलिबल टिमका प्रत्येक सदस्यहरुलाई पनि नगद २५ हजारसहित सम्मान गरिएको थियो ।
सम्मानितहरुः
क्र.सं. नाम बिवरण रकम
१. एपिएफ क्लब उत्कृष्ट महिला टिम १,००,०००
२. नेपाल पुलिस क्लब उत्कृष्ट पुरुष टिम १,००,०००
३. सरस्वती चौधरी (एपिएफ) उत्कृष्ट बर्ष खेलाडी महिला २५,०००
४. कुलबहादुर थापा (एनपिसी) उत्कृष्ट बर्ष खेलाडी पुरुष २५,०००
५. उषा भण्डारी (एनपिसी) उदियमान खेलाडी महिला २५,०००
६. सरण सामरी क्षेत्री (टिएसी) उदियमान खेलाडी पुरुष २५,०००
७. ज्ञानेन्द्र बिष्ट (एपिएफ) उत्कृष्ट प्रशिक्षक महिला २५,०००
८. सरोज श्रेष्ठ (एनपिसी) उत्कृष्ट प्रशिक्षक पुरुष २५,०००
९. कोपिला उप्रेती (एनपिसी) राष्ट्रिय खेलाडी ५०,०००
१०. कुमार राई (न्यू डायमण्ड) प्रशिक्षक २५,०००