काठमाडौं, माघ १५ । १५औं संस्करणको सानमिगेल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक ढोरपाटन स्पोर्ट्स क्लबका अध्यक्ष मनवीर छन्त्यालले भोलिदेखि शुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइकेको जानकारी गराएको छ । उनका अनुसार १५औं संस्करण (माघ १६ देखि २८)सम्म चल्ने प्रतियोगितामा १० टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
यसपटक साविक विजेता नेपाल एपीएफ क्लब, होङ्ग्वान्नी न्यु डायमन्ड स्पोर्टस् क्लब, सामाखुशी इंग्लिस बोर्डिङ (सेब) स्कुल, बुलबुले रारा क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, पारामाउण्ट इंग्लिस बोर्डिङ स्कुल, चुली युवा क्लब, चितवन टाइग्रेस र आयोजक ढोरपाटन स्पोर्ट्स क्लबले प्रतिस्पर्धा गर्ने छन् । हरेक १० टोलीले एक अर्कासँग एक–एक खेल खेल्ने छन् । पहिलो राउन्ड २४ माघसम्म चल्ने छ । त्यसपछि दोस्रो राउन्ड हुने छ । पहिलो राउन्डमा शीर्ष अंक जोड्ने ७ टोलीले दोस्रो राउन्डमा प्रवेश गर्ने छन् । दोस्रो राउन्डमा पनि सबै टोलीले एक अर्कासँग समान १–१ खेल खेल्ने छ । बढी अंक जोड्ने टोली च्याम्पियन बन्ने छ ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा प्रतियोगिताको पहिलो दिन चार खेल हुने छ । पहिलो खेलमा बुलबुले रारा र चुली युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा आर्मी र सेब, तेस्रो खेलमा एपीएफ र चुली तथा अन्तिम खेलमा न्यु डायमन्ड र पारामाउण्टबीच प्रतिस्पर्धा हुनेछ । प्रतयोगितनको विजेताले चार लाख पाँच हजार रुपैयाँ हात पार्ने छन् । दोस्रो हुनेले दुई लाख पाँच हजार तथा तेस्रो हुनेले एक लाख पाँच हजार पाउने छन् भने चौथौंदेखि सातौंसम्मले क्रमशः ७५ हजार, ५५ हजार, ४५ हजार र ३५ हजार रुपैयाँ पाउने छन् ।
गतवर्ष जस्तै यो वर्ष पनि विभिन्न चार विधा (उत्कृष्ट खेलाडी, उदियमान, बर्ष खेलाडी र प्लेयर अफ द सिरिज) बन्ने खेलाडीले यु एम स्कुटर पाउने छन् । त्यस्तै, भाग्यशाली एक दर्शक र ग्रेट एचिभमेन्ट अवार्ड विजेतालाई एक एक थान मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ । व्यक्तिगत विधातर्फको विजेताले जनही सात हजार रुपैयाँ हात पार्ने छन् ।