काठमाडौं, माघ १२ । नेपाल मार्शल आर्ट्स हाप्किडो एशोसिएसनको आयोजनामा पोखरामा प्रथम अन्तर्राष्ट्रिय हाप्किडोे सेमिनार शनिबारदेखि शुरु भएको छ । कास्कीको पोेखरा रंगशालामा अवस्थित कभर्डहलमा सेमिनारको प्रमुख अतिथि गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले उद्घाटन गरेकी हुन् ।
सो अवसरमा विशिष्ट ग्रान्डमास्टर अमेरिकाका हि क्वान्ली, अस्ट्रियाका ग्रान्डमास्टर गेरहार्ड अग्रीन्ज, इरानका हेडमास्टर जफार नभेइ र स्पेनका मास्टर सल्भाडोर कभालेरो पनि उद्घाटन समारोहमा उपस्थित थिए । यी चार जनासंगै सिनियर मास्टर नेपालका काली बहादुर घर्ती मगरले प्रशिक्षण दिने छन् । समारोहमा गण्डकी प्रदेशसभा सदस्य मिना गुरुङ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङ, नेपाल मार्शल आर्ट्स हाप्किडो संघका सल्लाहकार नविन रोका मगर, संघका गण्डकी प्रदेश कमिटीका अध्यक्ष एमवी आस्था र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठलगायतले सेमिनारको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा परिषद्का पूर्व सदस्य नारायण पौडेल, सेनाका पश्चिम पृतना हेड क्वार्टरका पृतनापती मेजर जनरल गोकुल भण्डारी, गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक विनोद शर्मा घिमिरे, सशस्त्र प्रहरी बल मुक्तीनाथ बाहिनीका बाहिनीपती सशस्त्र प्रहरी नायव महानिरिक्षक कविन्द्र मान श्रेष्ठ, सुरक्षा अधिकारी र खेल व्यक्तित्वको उपस्थिती थियो । उद्घाटन समारोहमा प्रमुख अतिथि पुनले गण्डकी प्रदेशमा यस स्तरको अन्तर्राष्ट्रिय सेमिनार आयोजना हुनु प्रदेशका लागि समेत गर्वको विषय भएको बताइन् । ग्रान्डमास्टर लीले नेपाली हाप्कीडोको विकास र विस्तारका लागि आफ्नो सधै सहयोग रहने बताए । आयोजक कमिटीका अध्यक्ष काली बहादुर घर्ती मगरले सबैको सहयोगले नेपाली हाप्किडोले एक पछि अर्को फड्को मार्दै गएका कारण आगामी दिनमा अझ माथिल्लो फड्को मार्ने विश्वास व्यक्त गरे । उद्घाटन समारोहमा कास्की, भक्तपुर, बौद्ध, काठमाडौं मूलपानी र नेपाल आर्मीका हाप्किडो खेलाडीले मार्शल आर्ट्स तथा सेल्फ डिफेन्स सम्बन्धी डेमोस्ट्रेसन गरेका थिए । कार्यक्रम शैल्ताज कुवँरले सञ्चालन गरेकी थिइन् ।
सो सेमिनारमा ६ सय खेलाडीको सहभागिता रहेको छ । सेमिनार नेपाल सरकारको नेपाल भ्रमण वर्ष २०२० लाई सार्थक तुल्याउन पनि महत्वपूर्ण हुने विश्वास लिएको आयोजक कमिटीले जनाएको छ ।