काठमाडौं, माघ ६ । नेपाल भलिबल संघको आयोजनामा पाँचौँ आरबीबी एनभीए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०२० मा नेपाल पुलिस क्लब महिलातर्फ सोमबार सेमिफाईनलमा प्रवेश गर्न सफल भएको छ । पुलिसले ढोरपाटन स्पोर्टस् क्लबलाई २५–५, २५–१५, २५–८ ले पराजित गर्दै सेमिमा स्थान पक्का गरेको हो ।
होङ्गवान्जी न्यू डायमन्डसंग ३–२ ले पराजित पुलिसले १ अंक जोडेको थियो भने ढोरपाटनलाई पराजित गर्दै थप ३ अंकका साथ कूल ४ अंक बटुल्न सफल भयो । समुह बिजेता र उपबिजेताको टुङ्गगो भने होङ्गवान्जी न्यू डायमन्ड र ढोरपाटन स्पोर्टस क्लब बीचको नतिजाबाट हुनेछ । महिलाको अर्को खेलमा समुह चरणबाट बाहिरिसकेका भरतपुर मेट्रो खेलकुद परिषद् (बिएमसी) र जावलाखेल भलिबल ट्रेनिङ्ग सेन्टर (जेभिसी) बीचको खेलमा बीएमसी बिजयी भयो । बीएमसीले जेभीसीलाई २५–८, २५–९, २५–१५ ले पराजित गर्यो ।
राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको च्याम्पियनसिपमा सेनाको त्रिभुवन आर्मी क्लब (टिएसी) ग्रुप एमा समुह बिजेता बन्दै अन्तिम आठमा पुग्न सफल भएको छ । टीएसीले सोमबार नयाँबजार सामाजिक युवा क्लब (एनवाईसी)लाई २५–१५, २५–१७, २५–१७ को सोझो सेटमा पराजित गर्यो । टीएसीले दुई खेलबाट ६ अंक जोड्न सफल भयो । टीएसीसंग पराजित भएतामा पनि एनवाईसी एक जितका साथ समुह उपबिजेताका रुपमा क्वाटरफाईनल प्रवेश गर्न सफल भयो । समुह ए बाट आरजी भलिबल ग्रुप भने दुबै खेलमा पराजित हुँदै समुह चरणबाट बाहिरिएको छ ।
ग्रुप बीको अर्को खेलमा भने बुलबुले रारा क्लब (बिआरसी)ले जावलाखेल भलिबल ट्रेनिङ्ग सेन्टर (जेभिसी)लाई २५–१५, २५–२१, २५–१० ले पराजित गर्दै ३ अंक बटुल्न सफल भयो । मंगलबारको खेल बिहान पहिलो खेल ९ः३० बजे पुरुषतर्फ एपीएफ र जेभीसी, दोश्रो खेल एनपीसी र एमभीसी तथा महिलातर्फको पहिलो खेल १३ः३० बजे एपीएफ र टीएसी र दोश्रो खेल एचएनडी र डीएससी बीच हुने कार्यक्रम रहेको छ ।