काठमाडौं, माघ ५ । नेपाल भलिबल संघको आयोजनामा पाँचौ आरबीबी एनभीए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०२० मा शनिबार महिलातर्फको खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लब र सेनाको टीएसीले जित निकालेका छन् । दशरथ रङ्गशालाको कभर्डहलमा भएको दोश्रो दिनको पहिलो खेलमा एपीएफले जावलाखेल भलिबल सेन्टर (जेभिसी)लाई ३–० को सोझो सेटमा पराजि गर्दै ३ अंक बटुल्न सफल भयो ।
एपिएफले जेभिसी माथि २५–४, २५–८, २–८ को सेटमा पराजित गरेको हो । त्यस्तै, महिलातर्फकै दोश्रो खेलमा टीएसीले भरतपुर मेट्रो खेलकुद परिषद (बिएमसी) लाई ३–० सेटले नै पराजित गर्यो । टीएसीले बीएमसीलाई २५–८, २५–२०, २५–१० को सोझो सेटमा पराजित गरेको हो ।
त्यस्तै, शनिबारनै भएको पुरुषको पहिलो खेलमा नयाँबजार सामाजिक युवा क्बल (एनवाईसी) र आरजी भलिबल ग्रुप (आरजीजी) बीचको खेलमा एनवासीले जित हात पार्यो । एनवाईसीले २५–२०, २५–१६, २५–१८ अंकका साथ ३–० को जित निकाल्दै ३ अंक बटुल्न सफल भयो । एनवाईसीको पहिलो जित हो भने आरजीजीको दोश्रो हार हो । पुरुषको दोश्रो खेलमा नेपाल पुलिस क्लबले पार्वती भलिबल क्लब (पिभिसी)बाट वाक ओभर प्राप्त गर्यो ।
प्रतियोगिताको तेश्रो दिन आईतबार बिहान ९ : ३० बजे पुरुषको पिभिसी र मनिमुकुन्द भलिबल क्लब (एमभिसी )बीच पहिलो प्रतिस्पर्धा हुने छ भने दोश्रो खेल पुरुषकै हेल्प नेपाल स्पोर्टस् क्लब (एचएनसी) र बुद्धटोल युवा भलिबल क्लब (बिवाईसी)बीच हुने कार्यक्रम रहेको छ ।
प्रतियोगिताको महिला र पुरुष दुबैको विजेताले दुई लाख र उपविजेताले एक लाख रुपैयाँ पुरस्कार पाउने छन् । महिला र पुरुषतर्फका सर्वोत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँ पाउने छन् । विधागत उत्कृष्टले जनही १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । च्याम्पियनसिपमा पुरुषतर्फ ११ र महिलातर्फ सात टोली सहभागी छन् ।