काठमाडौं, पुस २६ । नेपालका उदियमान खेलाडी प्रिन्स दाहाल काठमाडौंमा जारी प्रेसिडेन्ट कप नेपाल ईन्टरनेशनल सिरिज २०२० को दुई बिधामा फाईनलमा प्रवेश गरेका छन् । दाहाल पुरुष एकल र जोडी दुबैतर्फ फाईनलमा प्रवेश गरेका हुन् ।
प्रतियोगितामा दोश्रो बरियता प्राप्त तथा विश्व जुनियर बरियतामा १४औं स्थानमा रहेका दाहाल सेमिफाईनलमा भारतका अभिन बशिष्ठ माथि २१–१८, २०–२२, २१–१७ को जित निकाल्दै उपाधि नजिक पुगेका हुन् । अब प्रिन्सले उपाधिका लागि यस प्रतियोगिताका पहिलो बरियता तथा बिश्व जुनियर बरियतामा तेश्रो स्थानमा रहेका भारतका मिरबा लुवाङ्गसंग प्रतिस्पर्धा गर्ने छन् । लुवाङ्गले श्रीलङ्काका दुमिन्दु अबेविक्रमालाई २१–१२, २१–८ ले पराजित गर्दै फाईनल प्रवेश गरेका थिए ।
दाहाल पुरुष युगलमा पनि फाईनल प्रवेश गर्न सफल भएका छन् । पेम्बा शेर्पासंग मिलेर दाहालले आफ्नै देशका अमृत चौधरी र जे.बी. साउदलाई २१–१०, २१–११ ले पराजित गर्दै फाईनल प्रवेश गरे । अर्को प्रतिस्पर्धामा भारतका आर. बिकास प्रभु र अरुण कार्थिक के.को जोडीले श्रीलङ्काका दुमिन्दु अबेविक्रमा र दिगायु कहातापितियाको जोडीलाई २२–२०, २१–१५ ले पराजित गर्दै दाहाल र शेर्पाको जोडीसंग उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।
महिला जोडीतर्फ नेपालका बिष्णा बिष्ट र प्रसुना खत्रीको जोडीले नेपालकै रोन पाण्डे र अलिना सुनारबाट वाक ओभर प्राप्त गरे । बिष्ट र खत्रीको जोडीले फाईनलमा भारतका ग्नन्दा के. र सानिया सिकन्दरको जोडीसंग प्रतिस्पर्धा गर्ने छन् । भारतीय जोडीले नेपालका निता लम्साल र सिमा राजबंशीको जोडीलाई २१–८, २१–१२ ले पराजित गरे ।
नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको महिला एकलतर्फ भारतकी तस्निमा मिरले नेपालकी निता लम्साललाई २१–९, २१–९ को समान अन्तरले पराजित गर्दै फाईनलमा मलेसियाकी करुपथेभन लेत्शानासंगको भेट पक्का गरिन् । लेत्शानाले भारतकी अनुपमा उपाध्यायलाई १७–२१, २१–१७, २१–८ले पराजित गरिन् । मिश्रीत जोडीतर्फ पनि मिर आयन रशिदसंग मिलेर फाईनल प्रवेश गर्न सफल भईन् । उक्त जोडीले नेपालका गोकुल जोरा र निता लम्सालको जोडीलाई २१–१२, २१–११ ले पराजित गरे । अर्को प्रतिस्पर्धामा भारतकै मुरुगप्पा के.एस. र सानिया सिकन्दरको जोडीले नेपालका पेम्बा शेर्पा र सिमा राजबंशीको जोडीलाई २१–२, २१–११ ले पराजित गर्दै मिर र रशिदको जोडीसंगको भेट पक्का गरेका हुन् । प्रतियोगिताको फाईनल आज अपरान्ह १ः०० बजेबाट सुरु हुने कार्यक्रम रहेको छ ।