काठमाडौं, पुस २३ । सन्तोष साहुखल सहिद स्मारक ए डिभिजन लिगमा एक सय गोल गर्ने पहिलो खेलाडी बनेका छन् । आज दशरथ रंगशालामा भएको नेपाल पुलिस क्लबविरुद्धको खेलमा च्यासल युथ क्लबका फरवार्ड साहुखलले गोल गर्दैं नेपाली घरेलु लिगमा सय गोल पूरा गरेका हुन् । पुलिसविरुद्ध १८औँ मिनेटमा गोल गर्दै साहुखलले यो कीर्तिमान बनाएका हुन् ।
जारी सिजन च्यासलबाट खेलेका सन्तोषले सुरुवाती दुुई खेलमा तीन गोल गर्दै ९९ गोल पुर्याएका थिए । उनी अहिले च्यासल फुटबल क्लबका कप्तान समेत हुन् । यसअघिको लिगहरुमा उनले विभिन्न क्लबबाट ९६ गोल गरेका थिए । यो सिजनमा उनले पहिलो खेलमा संकटाविरुद्ध २ गोल गरे भने दोस्रो खेलमा मछिन्द्रविरुद्ध १ गोल गरे । उनकै गोलमा च्यासलले पहिलो खेलमा संकटामाथि २–० गोलको जित र मछिन्द्रमाथि १–१ गोलको बराबरी खेलेको थियो ।
२०६० सालदेखि लिग खेल्न सुरु गरेका साहुखल नेपाली लिगका सर्वाधिक गोलकर्ता हुन् । थ्रीस्टारबाट आफ्नो लिग यात्रा सुरु गरेका उनले डेब्यू खेलमै गोल गरेका थिए । यो सिजनसहित १० वटा लिग खेलेका साहुखलले ६ सिजन थ्रीस्टारबाट खेले । उनले २०६६/६७ को लिग सिजनमा सर्वाधिक १९ गोल गरे । उनी हाल जापानमा बस्दै आएका छन् । जापानमै बच्चाहरुलाई प्रशिक्षण दिन्छन् र आफू पनि खेल्छन् ।
सन्तोषले नेपाली लिगमा २०६०–थ्रीस्टार–६ गोल, २०६१–सशस्त्र प्रहरी–६ गोल, २०६२–थ्रीस्टार–९ गोल, २०६३–थ्रीस्टार–११ गोल, २०६६/६७–थ्रीस्टार–१९ गोल, २०६८–मनाङ मर्स्याङ्दी–१६ गोल, २०६९–थ्रीस्टार–१७ गोल, २०७०–थ्रीस्टार–९ गोल, २०७५–च्यासल–३ गोल, २०७६–च्यासल–४ गोल गरी कूल एक सय गोल गरेका हुन् ।