काठमाडौं, पुस २१ । न्यु डायमन्ड स्पोर्ट्स क्लबको आयोजनामा हुने तेश्रो होङ्गान्जी न्यू डायमन्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा सात टिमले भाग लिने भएका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनका अनुसार पुस २३ देखि २६ गतेसम्म हुने उक्त प्रतियोगितामा सात टिमको सहभागिता निश्चित भएको हो ।
प्रतियोगितामा आयोजक न्यु डायमन्डसहित डिफेन्डिङ च्याम्पियन एपीएफ क्लब, नेपाल प्रहरी, पोखराको टप्स उमावि, नेपाल आर्मी, कुलेश्वरको पारामाउन्ट इङलिस बोर्डिङ स्कुल र ढोरपाटन स्पोर्ट्स क्लबले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको मुख्य प्रायोजकमा होङ्गान्जी बौद्ध समाज रहेको छ । गत वर्ष पनि मुख्य प्रायोजक रहेको होङ्गान्जीले यो वर्ष प्रायोजन वापत नगद र जिन्सी गरी जम्मा १५ लाख दिने भएको छ । गत वर्ष होङ्गान्जीले पाँच लाख रुपैयाँ दिएको थियो । सम्झौता अनुसार होङ्गान्जीले पहिलो किस्तावापत प्रथम र दोश्रो हुने टिमको नगद पुरस्कार होङ्गान्जीका कन्ट्री म्यानेजर सोनाम वाङ्दी भुटियाले हस्तान्तरण गरेको संयोजक राईले जानकारी दिए । प्रथम पुरस्कार चार लाख एक सय एक रुपैयाँ तथा दोश्रो पुरस्कार तीन लाख एक सय एक रुपैयाँ नगद राखिएको छ । तेश्रोले एक लाख ५१ हजार एक सय एक रुपैयाँ तथा चौथोले ५१ हजार एक सय एक रुपैयाँ नगद पुरस्कार पाउने छन् । तेश्रो पुरस्कारको राशी मुक्तिनाथ विकास बैंक तथा चौथो पुरस्कार निलगिरी युथ क्लबले प्रायोजन गर्ने भएको छ ।
त्यस्तै, ब्ल्याक हर्स सुजले चौथो पुरस्कारको रकम बराबर आर्थिक सहयोग प्रदान गर्ने बताइएको छ । सात व्यक्तिगत उत्कृष्ट विधाको पुरस्कार जनही सात हजार एक सय एक रुपैयाँ श्रद्धधा फाइनान्स, न्युरोडले उपलब्ध गराउने भएको छ । तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाले २५ हजार, चन्द्रागिरी नगरपालिकाको वडा १५ ले ३० हजार, वडा ६ का अध्यक्षले व्यक्तिगत १० हजार र वडाको तर्फबाट १० हजार उपलब्ध गराउने भएका छन् । सर्वोत्कृष्ट खेलाडीलाई २१ हजार एक सय एक रुपैयाँबाट पुरस्कृत गरिने छ ।
पत्रकार सम्मेलनमा नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले आयोजक न्यु डायमन्डकी अध्यक्ष सुनकेशरी माली र प्रतियोगिता संयोजक कुमार राईलाई सहयोग स्वरुप पाँच थान भलिबल हस्तान्तरण गरेका थिए । प्रतियोगिता भने नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबमा हुने छ ।