काठमाडौं, पुस १८ । सन् २०१८ देखि २०२० सम्म अरु नेपाली लिग खेलेका विदेशी खेलाडीले २०२० को एभरेस्ट प्रिमियर लिग (इपिएल) खेल्न नपाउने भएका छन् । नेपालका अन्य फ्रेन्चाइज क्रिकेट लिग अर्थात् सन् २०१८ र २०१९ को पोखरा प्रिमियर लिग (पिपिएल) र धनगढी प्रिमियर लिग (डिपिएल) खेलेका विदेशी खेलाडीले आगामी सिजनको इपिएल खेल्न नपाउने भएका हुन् ।
यद्यपी आयोजकले गत सिजन इपिएल खेलेका विदेशी खेलाडीले भने खेल्न नपाउने वा पाउने विषयमा केहि खुलाएको छैन । साथै, यो सिजनको इपिएल खेल्न सबै विदेशी खेलाडीले आफ्नो देशको क्रिकेट बोर्डबाट मान्यता लिनु पर्नेछ । नेपाल क्रिकेट संघ (क्यान)ले इपिएल २०२० को संस्करणलाई मान्यता दिएको छ । इपिएल यसअघिको मिति भन्दा दुई सातापछि सरेको छ । अब मार्च १४ देखि २८ सम्म इपिएल हुनेछ । आइसिसीलाई यहि मिति पठाइएको इपिएलले जनाएको छ ।
इपिएलले नेपालका १८ खेलाडीलाई पहिलो श्रेणीको खेलाडीमा वर्गिकरण गरेको छ । जसमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी, शरद भेषवाकर, मोहमद आरिफ शेख, सन्दीप लामिछाने, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी, सुवास खकुरेल,कुशल भर्तेल, पवन सर्राफ, बसन्त रेग्मी, प्रदीप ऐरी, सुसन भारी, अभिनास बोहरा र सोमपाल कामी छन् । यी खेलाडीलाई कुनै पनि टिमले कम्तिमा दुई लाख रुपैयाँमा खरिद गर्न पाउनेछन् । दुई लाखभन्दा माथि जति मूल्यमा पनि खरिद गर्न सक्ने आयोजकको भनाइ छ । खेलाडीको ट्रेड मूल्यको ६० प्रतिशत खेलाडी र ४० प्रतिशत फ्रेन्चाइज टिमलाई जानेछ । यो सिजनको लिगमा प्रत्येक टिमले दुई खेलाडी किन्न र बेच्न सक्नेछन् । खेलाडी ट्रेड जनावरी २ देखि जनावरी ९ सम्म चल्नेछ ।