काठमाडौं, मंसिर २५ । सरकारले १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा स्वर्ण, रजत, कास्य विजेतालाई क्रमशःजनही नौ लाख, छ लाख र तीन लाख रुपैयाँ प्रोत्साहनस्वरुप प्रदान गर्ने भएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा खेलाडीहरुलाई बोलाएर सम्मान गर्दै उक्त घोषणा गरेका हुन् ।
त्यसैगरी, एकभन्दा बढी स्वर्णपदक विजेतालाई भने ११ लाखका दरले पुरस्कार दिने जानकारी दिए । त्यस्तै, फुटबलमा स्वर्ण जितेका खेलाडीलाई भने जनही पाँच लाख दिने घोषणा गरिएको छ । फुटबलबाहेक अरु टिम इभेन्टमा स्वर्ण जित्ने खेलाडीलाई पनि पाँच लाख रुपैयाँ प्रदान गरिने छ ।
कार्यक्रममा प्रधानमन्त्रीले १३औं सागमा उत्कृष्ट प्रदर्शन गरेकोमा खुसी व्यक्त गर्दै खेलाडीको प्रशंसा र खेलाडीहरुलाई बधाई दिएका दिए । उनले खेलाडीहरुलाई आगामी दिनमा पनि अझ बढि पदक ल्याउने प्रयासमा लाग्न सुझाव दिए । ‘गौरिका एक्लैले चारवटा स्वर्ण जितेर नेपालको गौरव बढाएकी छन् । आधा आकासले पनि हरेक काम गर्न सक्छ भन्ने उनले प्रमाणित गरेकी छन् ।’ उनले भने । मण्डेकाजी श्रेष्ठ, सुवास तामाङ, आयसा शाक्यलाई पनि डबल स्वर्णपदक प्राप्त गरेको भन्दै प्रधानमन्त्रीले कठिनाइसँग जुध्न सक्ने खेलाडीको प्रशंसा गर्न चाहेको पनि बताए । ठट्यौली शैलीमा प्रधानमन्त्रीले भने, ‘अलिकतिले कहिलेकाहीँ स्वर्ण चिप्लिन्छ । रजतमा चित्त बुझाउनुपर्छ । तर रजत केही उत्कृष्ट बिना प्राप्त गर्ने होइन, यो स्वर्ण आसपासकै हो । रजत पदक प्राप्त गर्नेलाई बधाई ।’ ‘कास्य पदक स्वर्ण पदक जस्तै हो । मात्रै दुईजना बढ्ता जान्ने भएर निस्के । ती दुइवटालाई हराइदिन पाएको भए हुन्थ्यो । अर्को पटक दुईवटालाई मौका दिने छैनौं । रजतले पनि एउटालाई पराजित गर्न कसो नसकिएला ?’ प्रधानमन्त्रीको हौसला थियो ।
हिजो सकिएको सागमा आयोजक नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य गरी २०६ पदक जितेको थियो । अंक तालिकामा दोस्रो भएको नेपालको सागमा यो अहिलेसम्मकै उत्कृष्ट नतिजा हो । खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि, २०७२ मा सागका स्वर्ण विजेतालाई पाँच लाख, रजतलाई तीन लाख र कास्य विजेतालाई दुई लाख दिने उल्लेख छ ।