काठमाडौं, मंसिर २५ । दक्षिण एसियाली खेलकुद (साग)को १३औं संस्करण भव्यताका साथ मंगलबार सम्पन्न भएको छ । मंसिर १५ गतेबाट औपचारिक रुपमा निकै व्यवस्थित तरिकाले शुरु भएको प्रतियोगिताको समापन पनि उस्तै उल्लासमय तरिकाले सम्पन्न भयो । सो अवसरमा बिभिन्न आकर्षक झाँकी, मार्चपास, सांस्कृतिक कार्यक्रम, आतिषबाजीलगायतका बिशेष प्रस्तुतिहरु प्रदर्शन गरिएको थियो ।
समापन समारोहलाई भिडियो प्रविधिबाट सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतियोगिता व्यवस्थित र भब्य रुपमा सम्पन्न भएकोमा हर्ष ब्यक्त गरेका थिए । उनले प्रतियोगितालाई सफल पार्न खट्ने र सहभागी हुने सबैलाई नेपाल सरकारका तर्फबाट धन्यबाद ब्यक्त गरे । प्रधानमन्त्री ओलीले आगामी दिनमा खेलकुदको अझ बिकासका लागि सरकारले प्रयाप्त पहल गर्ने प्रतिबद्धतासमेत जनाए ।
कार्यक्रमका प्रमुख अतिथि उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपालले सागको १३औं संस्करण ऐतिहासिक रुपमा सम्पन्न गरेकोमा हर्षित भएको बताए । ३५ बर्षअघि नेपालबाटै शुरु भएको सागको १३औं संस्करण ऐतिहासिक साबित भएको चर्चा गर्दै उनले यो सफलताले विश्वसामु नेपालको शिर अझ उचो भएको बताए । उपप्रधानमन्त्री पोखरेलले सगरमाथाको देश नेपाल अब खेलका माध्ययमबाट पनि विश्वसामु चिनिने उल्लेख गरे ।
युवा तथा खेलकुदमन्त्री जगतबहादुर (सुनार)विश्वकर्माले प्रतियोगिता ऐतिहासिक रुपमा सफल भएकोमा खुसी ब्यक्त गर्दै सहभागी राष्ट्र, खेल व्यबस्थापक, खेलाडीलगायत सबैलाई धन्यबाद दिए । स्वागत मन्तब्य ब्यक्त गर्दै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले प्रतियोगिताको सफलताले खेल क्षेत्रमा अझ उर्जा र उत्साह जागेको बताए भने राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले यो प्रतियोगिताको ऐतिहासिक सफलताले नेपालले जस्तोसुकै अबस्थामा पनि गर्न सक्छ भन्ने सन्देश दिएको बताए । यसअघि दुई–दुई पटक सरेको प्रतियोगिता आफू सदस्य–सचिव भएको चार महिनाभित्रै सम्पन्न गर्न सकिएको भन्दै उनले सफलताका लागि खट्ने सबैलाई धन्यबाद दिए ।
समापनका अवसरमा १४औँ सागको आयोजक राष्ट्र पाकिस्तानलाई झण्डा हस्तान्तरण गरिएको थियो । प्रधानमन्त्री ओलीले आज(बुधबार) खेलाडीहरुलाई बधाईज्ञापन गर्दै खेल क्षेत्रका लागि बिशेष प्याकेजको घोषणा गर्नुहुने सो अवसरमा जानकारी गराईएको थियो ।